Logo

यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील बन्न नील हिरा समाजको आग्रह



रुपन्देही, २ पुस: यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ ।

नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शब्दावलीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारसंस्था संवेदनशील बन्नुपर्ने बताए । सबै सञ्चारसंस्थालाई एकैठाउँमा राखेर मूल्याङ्कन गर्न नहुने उल्लेखगर्दै उनले मूलधारका सञ्चारसंस्था भन्दा दर्ता नभएका र युट्युबमा बढी नकारात्मक सामग्री आउने गरेको बताए । “मिडिया सामग्रीको विश्लेषण गर्दा धेरैजसो सामग्री बिकाउरुपमा आएका छन् । राम्रा कामका समाचार सकारात्मकरुपमा आए पनि वैकल्पिक मिडियामा बढी सामग्री पाइन्छ”, उनले भने ।

नील हिरा समाजका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले पहिचान र अधिकारका लागि समाजले आवाज उठाउँदै आएको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । “कहिलेकाहीँ मिडियामा आउने सामग्रीले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा नकारात्मक प्रभाव पार्छ, त्यसैले मिडिया बढी संवेदनशील बन्नुपर्छ”, उनले भने । संयोजक श्रेष्ठले प्रदेशस्तरमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समावेशी ऐन, नीति र बजेटको व्यवस्था गर्न माग गरे ।

बियोन्ड बेइजिङ कमिटी नेपालका कोषाध्यक्ष जगजीत कौरले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सशक्तिकरणका लागि समाजका सबै पक्ष सम्वेदनशील हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पत्रकार आचार संहितालाई टेकेर काम गर्ने भएकाले मूलधारका मिडियामा खासै समस्या नहुने गरेको बताए । नील हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले यौैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राज्यका हरेक तहमा अर्थपूर्ण सहभागिता र समावेशीकरण जरुरी रहेकामा जोड दिए । उनले यो समुदायमाथि हुने हिंसा र विभेद कम गर्न सरकारले विशेष संयन्त्र बनाउनुपर्ने बताए ।

साहसी कदम नेपालका प्रदेश संयोजक आनिक रानाले राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई घोषणापत्रमा समावेश गरी नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।

युवाका क्षेत्रमा कार्यरत संस्था युवाका सदस्य आस्था सुवेदीले महिला तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई यौनिकतासँग मात्रै जोडेर नहेर्न आग्रह गर्दै युवालाई उत्प्रेरणा दिने खालका विषयवस्तुलाई मिडियामा प्राथमिकता दिन आग्रह गरे ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका रुविना तामाङ र टीकाराम न्यौपानेले शारीरिक अवस्था एउटा र अर्कै भावना बोकेर हिँड्न सहज नहुने भएकाले यो समुदायको भावना बुझेर कलम चलाउन पत्रकारलाई अनुरोध गरे ।-रासस/Symbolic Photo



प्रतिक्रिया दिनुहोस्