Logo

शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो



काठमाडौं, पुस ३ । अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ। यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेको छ।

नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रूपैयाँ बाहिरिएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं नो अबजेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्।

यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ। उक्त आवमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए। राष्ट्रबैंकको तथ्यांकले उक्त वर्ष ४६ अर्ब ३२ करोड रूपैयाँ शिक्षाका नाममा बाहिरएको देखाएको छ।

आव ०७६/०७७ मा ३४ हजार ९४ विद्यार्थीले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ। उक्त आवमा शिक्षाका नाममा २५ अर्ब ८१ करोड रूपैयाँ बाहिर गएको राष्ट्रबैंकको तथ्यांक छ। आव ०७७/०७८ मा २७ हजार ९ सय ७८ जनाले मन्त्रालयबाट एनओसी लिएका छन्। उक्त वर्ष शिक्षाका नाममा २४ अर्ब ९६ करोड रूपैयाँ बाहिरिएको राष्ट्रबैंकको तथ्यांक छ।

विशेषगरी यसरी बिदेसिएका विद्यार्थीको रोजाइ चिकित्सा विज्ञान, व्यवस्थापन,कम्प्युटर साइन्स,अतिथि सत्कार,विज्ञान तथा प्रविधि विषय रहेको मन्त्रालयको तथ्यांकले देखाएको प्रमुख प्रोखरेलले बताए। नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसकेका कारण विद्यार्थी बिदेसिएको पोखरेलको अनुभव छ।

‘२०६५/०६६ आवमा २४ हजार ८ सय २४ जना विद्यार्थीले विदेशमा उच्च शिक्षा हासिल गर्न एनओसी लिएका थिए। यो संख्या ०७५/०७६ मा ह्वात्तै बढेर ६३ हजार पुग्यो। यसबाट स्वदेशी शिक्षामा अभिभावक र विद्यार्थी दुवैको आकर्षण कम हुँदै गएको बुझिन्छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्