Logo

एसईई प्रश्नपत्र छपाइबारे अन्योल



काठमाडौं, पुस ४। माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो ।

कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ । त्यसैलाई पुनः प्रयोग गर्ने वा नयाँ छाप्ने भन्ने अझै निश्चित हुनसकेको छैन ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीले २०७७ सालकै प्रश्नपत्र पुनः प्रयोग गर्न सकिने बताए । “यस वर्ष (२०७८ साल)को एसईईमा परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या थपिए प्रश्नपत्र थप्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्था भए थोरै सङ्ख्यामा प्रश्नपत्र छाप्दा पुग्छ । त्यसैले गत वर्षकै प्रश्नपत्र प्रयोग गर्नु उपयुक्त हुनसक्छ” उनले भने ।

कोभिड–१९ का कारण परीक्षा हुन नसक्दा २०७६ सालको एसईईको प्रश्नपत्र प्रहरी चौकीमा जलाइएको थियो भने गत वर्षको प्रश्नपत्र पनिकामा सुरक्षा घेरामा छ । पनिकाका अनुसार गत वर्ष करिब सवा दुई करोड रुपियाँ खर्च गरेर प्रश्नपत्र छपाइ गरिएको थियो । छपाइमा लाग्ने खर्च जोगिने भएकाले गत वर्षकै प्रश्नपत्र पुनः प्रयोग गर्नुपर्ने धारणा शिक्षा निकायका पदाधिकारीहरूले राख्दै आएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू अझैसम्म प्रश्नपत्र तयारीसम्बन्धी काम सुरु नभएकाले नयाँ प्रश्नपत्र छाप्नु परेमा आगामी चैतको दोस्रो साताअघि परीक्षा सञ्चालन सम्भव नहुने बताउँछन् । परीक्षा नियन्त्रक अधिकारीले छपाइ नगरी जगेडामा राखिएका गत वर्षकै दुई÷तीन सेट प्रश्न पनि सुरक्षित रहेको र तिनलाई प्रयोग गर्न पनि सकिने बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot