Logo

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन



काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे ।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । उनले भने, ‘म लगायत सबैले काम गरेर देखाउनु पर्छ, कसैप्रति पूर्वाग्रह राखिन्न।’

‘म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु,’ लिङ्देनले भने । विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कता लाग्यो भन्ने आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने उनले बताए ।

राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धी हुन्छ त्यही मार्ग लिने उनले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले भने, ‘समावेशी, समृद्ध नयाँ नेपाल बनाउने नारा थियो । तर, हाल पद्धति र पात्र दुवै असफल भएका छन् । नेता र व्यवस्था माथि नै जनताको विश्वास टुटेको छ । त्यसैले राजासहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot