Logo

नेपालको पूर्वाधार क्षेत्रमा चीनको बढ्दो लगानीको रहस्य



काठमाडौं, ५ पौष । चीनले नेपालका पूर्वाधार क्षेत्रमा थप लगानीका लागि इच्छा बढाइरहेको छ । यसका लागि उसले सहकार्यको चाहना राखेको छ। विभिन्न जलविद्युत परियोजनाहरु, विमानस्थल र सडकलगायतका पूर्वाधारमा हात हालेको चीनले थप पूर्वाधार क्षेत्रमा लगानीको चाहना व्यक्त गरेको हो।

सिचुवान प्रान्तको यिपिन सहरस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूसँगको भेटमा चिनियाँ पक्षले जलविद्युत्, निर्माणाधीन विमानस्थल, विद्युतीय सवारी कारखाना स्थापना लगायतका विषयमा चासो राख्दै थप लगानीका लागि तयार रहेको जनायो ।

पोखरा तथा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलसँग सिचुवानका हवाइ कम्पनीहरूसँग सम्पर्क स्थापित गर्नेदेखि नेपालमा विद्युतीय सवारीसाधनका कारखाना खोल्नेबारे चीनले चासो राखेको सिचुवान प्रान्तस्थित नेपाली वाणिज्यदूतावासले जनाएको छ। यसअघि क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरुसँग क्वाङ्सी स्वायत्त प्रान्तले पनि विद्युतीय सवारीसाधन कारखाना नेपालमै खोल्ने प्रस्ताव गरेका थिए।

पोखरासँग भगिनी सम्बन्ध रहेको सिचुवान प्रान्तीय यिपिन सहरले बर्सेनि आयोजना गर्ने अन्तर्राष्ट्रिय वाइन एक्स्पोमा भाग लिन उपस्थित भएका महावाणिज्यदूतावासका अधिकारीहरूसँग यिपिन पार्टी समिति उपसचिव लियाउ वनपिनले नेपालको पछिल्लो पूर्वाधार विकास परियोजनाबारेमा जानकारी लिएपछि सम्भाव्यताको खोजीका लागि आफ्ना जिज्ञासा राखेका थिए। उनले यिपिन सहरका उद्योग व्यवसायीहरु नेपालमा जान इच्छुक रहेको सुनाएको बुझिएको छ।

नेपालमा विद्युतीय परियोजनासहित विमानस्थलहरूको निर्माण कार्य अन्तिम चरणमा रहेका बेला बजारको खोजीका लागि प्रारम्भिक छलफल गरिएको छ । ‘नेपालमा विद्युतीय सवारी कारखाना खोल्न चीन इच्छुक देखिन्छ।

हालै नेपालले कोप २६ को सम्मेलनमा सहभागी भएका बेला सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता जनाएको छ। चीनले न्यू इनर्जी भेकलको प्रवर्द्धनमा जोड दिएको छ। यिपिन सहरले झन्डै झन्डै ५० प्रतिशत हारहारीमा विद्युतीय सवारी साधनमा लगानी गरेको छ।

चीनले यसरी नेपालका पूर्वाधार क्षेत्रमा लगानी बढाउने इच्छा व्यक्त गरे पनि यसको भित्रि रहस्य भने फरक हुने गरेको पाइएको छ। यसअघि निमार्ण सम्पन्न गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले आफ्नो झण्डा राख्दै स्वामित्वको दाबी गरेको थियो। उक्त झण्डा हटाउन सरकारले दबाब दिएको भए पनि हटाइएको छैन। चीनले श्रीलंकाको होम्मनटोटा बन्दरगाहमा कब्जा गरेको शैलीमा उक्त विमानस्थलमा आफ्नो झण्डा फहराएको हो।

त्यसैगरी चमेलिया जलविद्युत परियोजना तोकिएको समयसीमा भित्र सक्नुपर्ने भए पनि करिब दोब्बर लागतमा दोब्बर समयमा सम्पन्न गरेका थिए। जसले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको थियो। त्यसैगरी नेपाल चीन औद्योगिक पार्क निमार्णमा पनि चीनले कब्जा गर्ने शैलीमा निमार्ण गर्ने भएकोले स्थानीयले विरोध गरेका छन्। चीनले विभिन्न मुलुकमा पूर्वाधार विकासका लागि लगानी गर्ने र विस्तारै उक्त पूर्वाधारमा आफ्नो कब्जा जमाउने गरेको छ। यसको पछिल्लो उदाहरण विभिन्न अफ्रिकी मुलुकहरुमा देख्न सकिन्छ। जसले गर्दा चिनियाँ लगानीलाई नेपाल भित्र्याउने विषयमा सरकारले धेरै सोच्नुपर्ने विज्ञहरुले सुझाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot