Logo

प्रकाशमान सिंह र विमलेन्द्र निधि कता ?



काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएपनि प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए ।

सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । निधिको प्रदेश २ मा पकड बलियो छ । यसकारण पनि उनीहरु काँग्रेसको भावी राजनीतिमा हावी हुनसक्ने देखिएको छ ।

सिंह र निधिसँग देउवाले भद्र सहमति गरेको विषय पनि आइरहेको छ । देउवालाई यी दुई नेतासँगको भद्र सहमति पूरा गर्नुपर्ने चुनौती छ । अर्कोतर्फ, यी दुई नेता छुट्टै समूह बचाएर बढ्ने हुन् या कुनै समूहसँग मिल्ने हुन् चासोको विषय बनेको छ ।

प्रकाशमान सिंह डा. शेखर कोइरालासँग निकै असन्तुष्ट रहेको बुझिएको छ । विशेषगरी उनको समूहका प्रभावशाली नेताहरुले आफूलाई सभापतिको दौडमा अस्वीकार गरेको र पछि विवादास्पद टिप्पणी गरेकोमा सिंहले गम्भीर चासो देखाएको बुझिएको छ । अब शेखर कोइराला समूहका नेताहरुले आफूलाई अस्वीकार गर्ने निष्कर्षमा पुगेका उनी देउवा समूहसँगै नजिक भइसकेका छन् । देउवा समूहका बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, उदय शमशेर राणा जस्ता नेताहरुले सिंहसँग निकटता बढाइरहेका छन् । यसले पनि उनी देउवा समूहसँगै नजिक हुने देखिएको छ ।

अर्कोतर्फ, प्रकाशमान सिंह, डा. सशांक कोइराला र सुजाता कोइरालाको चाक्सीबारीमा छुट्टै छलफल अर्थपूर्ण मानिएको छ । यी तीन नेताहरु भविष्यमा मिलेर जाने सम्भावना पनि बढेको छ ।

विमलेन्द्र निधिले भने प्रदेश २ को काँग्रेस सभापतिको चुनावमा शेखर कोइराला समूहसँग रणनीतिक समिकरण बनाउने निश्चितप्रायः भएको छ । उनी छुट्टै समूह बनाएर अगाडि बढ्ने देखिएको छ । तर, उनले देउवा समूहभन्दा शेखर कोइराला समूहसँग नजिक रहेर शक्ति सञ्चय गर्ने संकेतहरु देखिएको छ । निधिले देउवा समूहका नेताहरुले आफूलाई साथ नदिएको आधारमा फरक धार बनाएरै बढ्ने निर्णय लिएको देखिन्छ । उनी यसरी नै आगामी महाधिवेशनसम्म बढ्लान् या कुनै समूहसँग जोडिएलान् चासोको विषय छ । तर, उनी देउवा समूहबाट भने टाढिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्