Logo

देउवा समूहमा सिटौला अस्वीकृत भएपछि…



काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाको पक्षमा खुले । महाधिवेशनमा कठिन चुनौती देखेका देउवाले सिटौलाको साथ लिएका थिए । सिटौला आफू ब्याक भएर आफ्ना विश्वासपात्रहरुलाई अगाडि बढाए ।

सिटौला समूहलाई महामन्त्रीसहित केही केन्द्रीय सदस्यका उम्मेदवारलाई प्यानलमै राख्न देउवा तयार भए । देउवा समूहका हस्तीहरुलाई केन्द्रीय सदस्यको उम्मेदवारमा सिमित हुनुपर्यो । प्रदीप पौडेललाई देउवा महामन्त्रीको उम्मेदवार मान्न देउवा तयार भए । बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक जस्ता हस्तीहरु ब्याक गराइए ।

पौडेलले महामन्त्रीमा पराजय व्यहोरे । सिटौलाले पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पहिल्यै घोषणा गरेका थिए । उनले भनेजस्तै भयो । तर, देउवा समूहमै उनी स्वीकार्य भएनन् । जसका कारण पराजित भए ।

सिटौलाले अघि सारेर देउवा प्यानलमा राखेका कतिपय उम्मेदवारहरु पराजित भए । जसमध्ये पूर्वसांसद धना खतिवडा पनि हुन् । कुन्दन काफ्ले मात्र केन्द्रीय सदस्यमा विजयी भए ।

सिटौला विगतमा गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । उनको निधनपछि सुशील कोइरालाको विश्वासपात्र बने । १३औं महाधिवेशनमा सभापतिको दाबी गरे ।

रामचन्द्र पौडेल उम्मेदवार बनेपछि उनी पनि उम्मेदवार बने । तत्कालीन संस्थापन पक्षको मत बाँडिदा दोस्रो चरणमा देउवाले जिते । लामो समय कोइराला परिवारसँग नजिक रहेका सिटौलालाई देउवा समूहले स्वीकार्न तयार नभएको विश्लेषण भइरहेको छ ।

चतुर नेताको परिचय बनाएका सिटौला यसपटक भने देउवा समूहबाट नराम्रो धक्का खान पुगेका छन् । सभापतिका लागि दोस्रो चरणको चुनाव हुँदा पनि उनी निर्णायक शक्ति देखिएनन् । न त उनको भूमिका नै महत्वपूर्ण बन्न सक्यो । यसले पनि सिटौलालाई ठूलो धक्का परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot