Logo

काँग्रेसमा विरासतको राजनीति गर्नेहरु कमजोर भएका हुन् ?



काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । उनीहरु सबै नेताका छोराछोरी र नजिकका आफन्त हुन् ।

पदाधिकारीमा विरासतको राजनीतिबाट आएकाहरु पराजित भएपनि केन्द्रीय सदस्यमा लोकप्रीय मतका साथ विजयी भए । वीपीपुत्र डा. सशांक कोइराला पुरुष उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउन सफल भए । काँग्रेसका दिवंगत नेता खुमबहादुर खड्काकी पत्नी शिला खड्का पनि लोकप्रीय मतका साथ लुम्बिनी प्रदेशको महिलातर्फको केन्द्रीय सदस्यमा १४ सय मतान्तरका साथ जित्न सफल भइन् । प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव पनि मधेशी खुल्लातर्फ केन्द्रीय सदस्य निर्वाचित भए । ५ सिटका लागि भएको प्रतिष्पर्धामा शेखर कोइराला प्यानलका उनी मात्र जित्न सके ।

काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यले प्राप्त गरेको मत र निर्वाचन परिणामलाई हेर्दा विरासतको राजनीतिलाई मतदाताले अस्वीकार गरेका छैनन् । विरासतको राजनीति गरेकाहरुको मतलाई जोड्ने हो भने सभापति निर्वाचित शेरबहादुर देउवाको भन्दा बढी छ । बरु महाधिवेशन प्रतिनिधिहरु विरासतको राजनीति गर्नेहरुको विभाजनप्रति निकै असन्तुष्ट देखिए ।

काँग्रेसमा इतिहास बोकेका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका अलावा लामो समय काँग्रेसको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाका सन्तान राजनीतिमा सक्रिय छन् । तर, उनीहरु एकले अर्काको नेतृत्व स्वीकार्न तयार भएनन् । समान उमेर हुनु र राजनीतिमा उस्तै समयमा आउनुले पनि फरक पारेको देखिन्छ । राजनीतिमा सिनियर र जुनियरको विषय पनि निकै आउन पुग्यो । यसले कोइराला परिवारका तीन सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला नै एक हुन सकेनन् ।

प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि विरासतको राजनीतिबाट आएका कुनै नेतासँग शक्ति बाँडफाँड गर्न तयार भएनन् । उनीहरुको मत विभाजित भयो । जसको फाइदा देउवाले सभापतिमा जित्न मात्र नभई पदाधिकारी र केन्द्रीय कमिटिमा आफ्नो बलियो प्रभाव बनाउनमा लिए । यतिसम्मकी सभापतिको दोस्रो चरणको मतदानमा पनि सिंह र निधिले कोइरालालाई स्वीकार्न तयार भएनन् । उनीहरु देउवालाई नै सभापति बनाउने दिशामा बढे ।

यसपटक काँग्रेसका मतदाताले विरासतको राजनीति गर्नेहरुलाई नराम्रो पाठ सिकाएको विश्लेषण भएको छ । काँग्रेसका बहुसंख्यक कार्यकर्ताले विरासतको राजनीति गर्नेहरुलाई एकजुट हुन आग्रह गरेका थिए । तर, त्यसलाई अस्वीकार गरे । जसका कारण सबैले धेरै गुमाए । लाभ देउवाले लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot