Logo

क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार लिगल र पोख्रेललाई



काठमाडौँ, ७ पुस । यस वर्षको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार २०७८ वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेललाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं वरिष्ठ साहित्यकार प्रा.डा. उषा ठाकुरले एक समारोहका बीच पुरस्कार अर्पण गरेकी हुन् ।

गीतकार एवं कवि सपना लामिछाने देउजाद्वारा लिखित कविता सङ्ग्रह जिन्दगी एक यात्रा को विमोचन समारोहको अवसरमा उनीहरुलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएवापत साहित्यकार लिगललाई क्याप्टेन रतन बहादुर लामिछाने विशिष्ट साहित्य पुरस्कार र पत्रकारिताको विकासमा योगदान दिएवापत पोख्रेललाई क्याप्टेन रतन बहादुर लामिछाने युवा प्रतिभा पुरस्कार २०७८ बाट सम्मान गरिएको कार्यक्रम संयोजक दीपक भेटुवाल ( दीपसागर) ले बताएका छन् । लिगलका विभिन्न विधाका दुई दर्जनभन्दा बढी पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन भने पोख्रेल प्राइम टेलिभिजनमा समाचार संयोजकका रूपमा कार्यरत पत्रकार हुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य वरिष्ठ साहित्यकार प्रा.डा. ठाकुर र वरिष्ठ साहित्यकार प्रा.दिनेशराज पन्तले कवि सपना लामिछाने देउजा को जिन्दगी एक यात्रा नामक कविता सङ्ग्रहको संयुक्त रूपमा विमोचन समेत गरेका थिए ।

ठाकुरले देउजाको कविताले मानव जीवनका हरेक पाटोलाई कविता संग्रहले समावेश गरेको भन्दै प्रशंसा गरिन् । त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले पनि कविता संग्रह सबैलाई उपयोगि हुने भन्दै समिक्षा गरेका थिए । उनले मानवीय र सामाजिक जीवनका विविध पक्षहरूलाई अत्यन्त सबल ढंगबाट कवितामा उतार्न कवि सफल भएको स्पष्ट पार्दै पुस्तकको सफलताको कामना गरे ।

साहित्यकार सुशीला देउजाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार हरिप्रसाद पाण्डेय, जलेश्वरी श्रेष्ठ, गायक आनन्द कार्कीलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियोे । उनीहरुले कवि एवं गीतकार लामिछानेद्वारा लिखित पुस्तकमा समाविष्ट कविता र लेखकका बारेमा आआफ्नो धारणा राखेका थिए । कार्कीले गित गाएर मनोरन्जन प्रदान गरेका थिए


जिन्दगी एक यात्राको प्रकाशन तथा कार्यक्रम संयोजन सूचक प्रकाशनले गरेको थियो । यस्तै कार्यक्रममा, राधा कार्की, तारा दाहाल, सनत कुमार आचार्य तथा रियनराज खनाल लगायतका कविहरुले विमोचित पुस्तकमा समाविष्ट कविताहरु वाचन गरेका थिए ।

सुचक प्रकाशनका अध्यक्ष दिपक भेटवाल दिपसागरले साहित्यको संरक्षण र विस्तारमा आफू सधैँ सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्