Logo

कांग्रेस समृद्ध नेपाल निर्माणका अभियानमा लाग्नेछ : नेता बस्नेत



काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन् । नेपाल तरुण दलका अध्यक्षसमेत रहेका उनका सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा उनले पार्टीको १४औँ महाधिवेशनले आगामी दिनमा पार्टीको भविष्य उज्ज्वल बनाएको बताएका हुन् ।

“कांग्रेसले आगामी दिनमा तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,”उनले भने । कांग्रेसलाई आगामी दिनमा ठूलो, राम्रो र जनताको पीरमर्का बुझ्ने पार्टी बनाउने उनको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने उनले बताए ।

नेता बस्नेतले पार्टीका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उल्लेख गरे । तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा तरुण दललाई बलियो बनाउनका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ थियो ।

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले अध्यक्ष बस्नेतको जीत सिङ्गो देशभरीको तरुणको जित भएको जनाउँदै तरुणका साथीलाई आगामी दिनमा समेटेर अगाडि बढ्न आग्रह गरे । संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्