Logo

‘युवालाई विश्वास र युवाले भरोसा गर्ने नेता प्रचण्ड हो’ : सुमन देवकोटा



काठमाडौं, ८ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का भातृ संगठनका प्रमुखहरुले पार्टीको राष्ट्रिय सम्मेलनमार्फत लिईने नीति र विचारले नै देशलाई डोर्याउने बताएका छन् । र, उनीहरुले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै विकल्प नरहेको पनि स्पष्ट पारेका छन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसिएलका अध्यक्ष सुमन देवकोटा र मजदुर संगठनका प्रमुख जगत सिम्खडाले यस्तो बताएका हुन् ।

त्यस्तै, वाइसीएलका अध्यक्ष सुमन देवकोटाले माओवादी युवाहरुको र देशकै भविष्य बोेकको पार्टी भएको स्पष्ट पारेका छन् । उनले अहिले देशमा विद्यमान राजनीतिक दलहरुमध्ये माओवादीले नै युवाहरुलाई सबैभन्दा बढि स्थान दिएको सुनाए । उनले भने,‘युवालाई चाहेको र युवालाई अगाडी बढाउने एउटा मात्र दल माओवादी हो ।’

अन्य पार्टीले युवाहरुलाई झण्डा बोक्न र सडकमा उतार्नमात्र प्रयोग गरेको आरोप लगाउँदै उनले माओवादीले मात्रै युवाहरुलाई नीति निर्माणको कार्यमा उचित भूमिका दिएर अघि बढाएको दाबी गरे । युवालाई केन्द्र (नेतृत्वको तह) मा पु्र्याउने पार्टी माओवादी मात्रै भएको उनको भनाई थियो ।
‘नेपालका मुख्य ३ पार्टीलाई हेर्दा युवालाई अगाडी ल्याउने पार्टी माओवादी मात्रै हो । माओवादीले युवाहरुको लागि विधानमै उचित व्यवस्था गरेको छ ।’–देवकोटाले भने । कांग्रेस र एमाले पार्टीको पालिका अधिवेशनमा २/÷२२ वर्षका कलिला प्रतिनिधि बनेको खबरले आश्चर्य बनिरहेकोलाई व्यंग्इ गर्दै उनले माओवादीको त्यस्ता समाचार धेरै भएको समेत बताए ।

उनले अबको अध्यक्ष निर्विकल्प प्रचण्ड नै भएको बताए । उनले भने,‘अब निर्विकल्प रुपमा प्रचण्ड अध्यक्ष हुनुहुन्छ, उहाँ पार्टीको मात्र नभएर यो देशकै नेता हो ।’ अहिले देश प्रचण्डले भनेको बाटोमा हिँडेको उनले बताए । उनले अहिले प्रचण्डले जता टाउको फर्काए त्यतैतर्फ देश हिँडेको र प्रचण्डले जहिल्यैपनि अग्रगमनको बाटो तय गरेको बताए । देवकोटाले पार्टीभित्र नेतृत्वमा आउन चाहनेहरुको लागि कुनै बन्देज नगरिएको पनि सुनाए । उनले अध्यक्ष प्रचण्डले सबै विकल्प खुल्ला गरेको जनाए ।

उनले संगठनभित्र पार्टीलाई मजबुद बनाउन वैचारिक, राजनीतिक र सामाजिक रुपमा कहाँ चुकेको छ त्यसबारेमा बहस हुने पनि बताए । समाजवादको यात्रा पार्टीभित्र बहस नगरिकन समाजवादी लक्ष्य पुरा नहुने भएकोले सम्मेलनमा यसबारेमा सबैभन्दा धेरै बहस हुने पनि उनले जनाए । देशको भविष्य बोेकेको पार्टी नै माओवादी मात्र भएको उनले बताए ।

उनले प्रचण्डको एजेण्डा देशमा रहेसम्म युवाहरुले साथ दिने पनि बताए । उनले भने,‘युवालाई विश्वास र युवाले भरोसा गर्ने नेता प्रचण्ड हो र युवाले मान्ने नेता पनि प्रचण्ड नै हुनुहुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्