Logo

किन सुरक्षाफौजमा आत्महत्या बढी हुन्छ ?



काठमाडौं, ९ पौष । पावर र पैसाका बाबजुद सुरक्षाफौजमा आत्महत्या बढी देखिन्छ । समाजशास्त्री इमाइल दुर्खिमले पनि सर्वसाधारणमा भन्दा सुरक्षाफौजमा आत्महत्या बढी देखिएको तथ्यबारे उल्लेख गरेका छन् । उनको प्रशिद्ध कृति सुसाइडमा यसबारे प्रष्ट पारिएको छ ।

नेपालमा पनि सुरक्षा निकायका उच्च देखि तल्लो तहमा रहेकाहरुले आत्महत्या गरेको घटना रेकर्ड छ । ९ पौषमा नेपाल प्रहरीका एसएसपी सुशिलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा फेला परे । यो आत्महत्या हो वा होइन अनुसन्धानको विषय बनेको छ ।

९ माघ २०६७ मा बहालवाला डिआइजी कञ्चन थापाले आत्महत्या गरेका थिए । उनी नेपाल प्रहरीमा भविष्य भएका प्रहरी अधिकृतमा पर्दथे । थापाले बसुन्धराको सृजनाटोलस्थित घरमा आत्महत्या गरेका थिए । उनले दायाँ कन्चटमा गोली हानेका थिए ।

१४ कात्तिक २०६९ मा सशस्त्र प्रहरी बलका डिएसपी वसन्त थापाले आफ्नै गोकर्णस्थित रुखमा झुण्डिएर आत्महत्या गरे । उनले सुसाइड नोटमा पारिवारिक कारणले आत्महत्या गरेको लेखेका थिए ।

११ जेठ २०७७ मा महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत असई महेश कार्कीले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका थिए । उनले ड्युटी पछि पेस्तोलले आफैलाई टाउकोमा गोली प्रहार गरेका थिए ।
३० वैशाख २०७८ मा पूर्वएआइजी कमलसिंह बमको घरमा कार्यरत प्रहरीले झुन्डिएर आत्महत्या गरेका थिए । काठमाडौंको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा प्रहरी परिचर बासुदेव धमलाले आत्महत्या गरेका थिए ।
२८ मंसिर २०७७ मा चितवनमा प्रहरी हवल्दारले आत्महत्या गरे । ३५ वषीृय होमप्रसाद ढकालले घर नजिकैको आँपको रुखमा पासो लगाई झुन्डिएर आत्महत्या गरेका थिए ।
किशोरी जिस्क्याएको उजुरी परेपछि पाँचथरको फिदिममा कार्यरत प्रहरी जवान मानबहादुर बिष्टले १२ जेष्ठ २०७५ मा आत्महत्या गरे । उनलाई पक्राउ गरेर ल्याउन जिल्लाबाट आदेश गएको थियो । त्यसको जानकारी पाएलगत्तै उनले आत्महत्या गरेका थिए ।

१५ असार २०७७ मा सुनसरी जिल्ला अदालतमा कार्यरत प्रहरी हवल्दारले आफैले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेका थिए । उनले कञ्चनमा गोली हानेका थिए ।

१३ जेठ २०७५ मा उदयपुरमा एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरेका थिए । उनले सुसाइड नोट लेखेर ब्यारेक नजिकै झुण्डिएर आत्महत्या गरेका थिए ।
सेनामा पनि आत्महत्याका घटनाहरु छन् । १४ भदौ २०७७ मा जंगी अड्डास्थित पेट्रोल पम्पमा ड्युटीमा रहेका जवानले आफैले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका थिए ।

७ असार २०७८ मा पर्साको चण्डीप्रसाद गणका सिपाहीले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरे । उनले हानेको गोलीले मुखभर चोट लागेको थियो ।

२०४८ देखि २०६८ को मंसिरसम्म १२० भन्दा बढी सैनिकले आत्महत्या गरिसकेको तथ्यांक छ । सेनाले आत्महत्याबारे अध्ययन पनि गरेको थियो । अध्ययनबाट परिवारसँगको बिछोड, बढुवा प्रणाली, समकक्षीको प्रगति हुँदा आफूको नहुनु, न्यून अवसर, सामाजिक सञ्जालमार्फत् गलत सम्पर्क, मनोरञ्जन केन्द्रको अभाव, भेदभाव जस्ता कारणहरु औल्याइएको थियो ।

प्रहरीहरुले गरेको आत्महत्याको कारणमा पारिवारिक तथा अन्य कारणले तनाव हुँदा देखिएको छ । एक दशकअघि डिएसपी कन्चन थापाको आत्महत्याको कारण उनको विवाहोत्तर सम्बन्ध पाइएको थियो । थापा एकजना महिलासँग लिभिङ टुगेदरमा थिए । महिला बस्ने बसुन्धरास्थित कोठामै पुगेर उनले आत्महत्या गरेका थिए । उनले सुसाइड नोटमा पारिवारिक र आर्थिक कारणले आत्महत्या गरेको लेखेका थिए । उनले अपार्टमेन्ट ५० लाखमा बेचेर अन्यत्र लगानी गर्दा ठूलो नोक्शानी परेको सुसाइड नोटमा लेखेका थिए ।

९ वर्ष अघि गोकर्णमा आत्महत्या गरेका डिएसपी वसन्त थापाले पनि सुसाइड नोटमा पारिवारिक कारण खुलाएका थिए । यसबाट पनि सुरक्षाफौजमा रहनेहरुको धेरैजसो आत्महत्याको कारण पारिवारिक हुने गरेको बुझिन्छ ।

युवावस्थाका सुरक्षाफौजमा कार्यरतहरु प्रेमसम्बन्धमा समस्या आएपछि आत्महत्या गरेको घटना पनि छन् । १ भदौ २०७६ मा स्वयम्भूमा एकजना प्रहरी जवानले प्रेमिकाको कोठाको झ्यालमा पासो लगाई आत्महत्या गरेको फेला परेको थियो । प्रेमसम्बन्धमा संकट आएपछि उनले आत्महत्या गरेको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्