Logo

देउवाले क-कस्लाई केन्द्रीय सदस्य मनोनित गर्लान् ?



काठमाडौं, १० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनपछि पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आज पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा पार्टीका प्रभावशाली नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवार नभएका र सभापतिमा पराजित भएकाहरुलाई देउवाले पहिलो लटमा केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सभापतिमा पराजितहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्यमा मनोनित हुने बुझिएको छ । पौडेल महाधिवेशनमा तटस्थ भूमिकामा रहेका थिए । सिटौलाले देउवालाई समर्थन गरेका थिए ।

उपसभापतिमा पराजित सुजाता कोइराला, विजयकुमार गच्छेदार, महेश आचार्य र चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र प्रदीप पौडेल पनि केन्द्रीय सदस्यमा मनोनित हुने सम्भावना छ । उनीहरुको बारेमा पछि टुंगो लाग्ने बुझिएको छ ।

पदाधिकारीमा बहुमतमा रहेका देउवा केन्द्रीय कार्यसमितिमा दुई तिहाईको शक्तिमा छन् । काँग्रेसमा देउवा १३औं महाधिवेशनमा भन्दा शक्तिशाली देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot