Logo

गण्डकीका ११ जिल्लामा राष्ट्रिय खेलकुदका खेल प्रस्ताव



–कृष्ण दवाडी कास्की, १० पुस : गत वर्ष फागुन अन्तिम साता निर्धारित गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन सकेन ।

हरेक दुई-दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदको नवौँ संस्करण आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशलाई छ । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँको जिम्मेवारी गण्डकीले पाए पनि निर्धारित मितिमा सम्पन्न गर्न कोरोना बाधक बन्यो ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले गत वर्ष रोकिएको राष्ट्रिय खेलकुद यस वर्ष गर्ने योजनामा छ । आगामी वैशाख÷जेठमा प्रतियोगिता गर्ने योजना सरकारको छ । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गण्डकीका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राखेपमा प्रस्ताव पठाएको छ । अधिकांश खेल पूर्वाधार र प्रदेश राजधानी भएकाले पोखरा रङ्गशालामा सञ्चालन हुने भए पनि सबै जिल्लामा प्रतियोगिताको रौनक र अपनत्व होस् भनेर सबैलाई समेटेर प्रस्ताव पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

जिल्लामा खेलाडीको खेलप्रतिको आकर्षण तथा बढ्दो खेलाडीको चापलाई मध्यनजर गरी ११ वटै जिल्लामा खेलस्थल तय गरिएको उहाँले बताउनुभयो । पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल,हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा खेलाउने योजना छ ।

यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला÷पुरुष) बाग्लुङ, कराँते (महिला÷पुरुष) लमजुङ, टेवलटेनिस (महिला-पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिला÷पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला÷पुरुष) गोर्खामा खेलाउने योजना छ ।

यसैगरी बाँस्केटबल (महिला÷पुरुष) तनहुँ, बुद्धिचाल (महिला÷पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला÷पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला÷पुरुष) स्याङ्जा र फेन्सिङ(महिला÷पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ ।

“हामीले खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षण सबैलाई मध्यनजर गरी प्रस्ताव पठाएका छौँ”, कार्यालय प्रमुख योगीले भन्नुभयो, “सम्भवत यहाँबाट प्रस्तावित स्थलमा नै राखेपले खेलाउने गरी कार्य तालिका बनाउने छ ।”

राष्ट्रिय खेलकुदका लागि पोखरामा सुटिङ, पौडी पोखरी, हक्की बाहेकका पूर्वाधार तयारी अवस्थामा छन् । सुटिङ र पौडी पोखरीका लागि राखेपले निर्माण प्रक्रिया अघि बढाएको बताइन्छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट रु १६ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ । नवौँलाई लक्ष्य गरी पोखरामा विभिन्न खेल सङ्घले खेलाडी प्रशिक्षण तथा अभ्यास सुरु गरेका छन् । मुख्य खेलको प्रशिक्षण सुरु भएको छ । कोरोनाले रोकिएका खेल गतिविधि नियमित बन्दै जाँदा खेलकुद लयमा फर्किन थालेको छ ।

प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी खेल सङ्घहरुलाई खेल सामग्री उपलब्ध गराउन रु ५० लाख बजेट विनियोजन गरेको छ । खेलकुदको मिति तय भएपछि आवश्यक खेल सामग्री उपलब्ध गराइने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । यसैगरी प्रदेश सरकारले पनि खेल पूर्वाधार निर्माणका लागि रु दुई करोड बजेट छुट्टाएको बताइन्छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्