Logo

ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आग्रह



काठमाडौं, पुस ११ । आज प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारेर आजको दिनलाई यसै बर्षदेखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना संदेश जारी गर्दै ज्येष्ठ नागरिक प्रति सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् । जेष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीद्वारा जारी संदेशमा जोड दिइएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरुका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको दाईत्व रहेको संदेशमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्