Logo

बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश हुँदै



काठमाडौँ, १२ पुस: नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।

बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रको कार्यक्रम एक घण्टा ढिला गरी १२ बजेदेखि सुरु भएको छ । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

उनले आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकमा प्रवेश गराउनुभएको राजनीतिक प्रतिवेदनको विस्तृत विवरण आजको बन्दसत्रमा प्रस्तुत गर्ने छन् । यस्तै, नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ । समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको कार्यालय सचिव ढकालको भनाइ छ ।

समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ । अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत गर्न लागेको राजनीतिक प्रतिवेदनमा ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको छ ।

त्यस्तै, दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ समेटिएको छ । त्यसमा ‘अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ । यस्तै ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ गरिएको छ । राजनीतिक प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ समावेश गरिएको छ । चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे विस्तृत चर्चा गरिएको छ ।

त्यसैगरीे पाँचौँ बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिबारे’ समावेश गरिएको छ । छैठौँ बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा गर्ने प्रयास गरिएको छ ।

सातौँ बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास गरिएको माओवादीका नेताहरुले जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन् । यस्तै उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको बारेमा प्रष्ट्याउने प्रयास गरेका छन् ।

सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।-रासस



प्रतिक्रिया दिनुहोस्