Logo

कुन्ती शाही ‘हाँसोको पात्र’ बनेपछि रेखा थापाको याद



काठमाडौं, १२ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा अतिथिका रुपमा पुगेका नेताहरुले महत्वपूर्ण सम्बोधन गरे । कसैले ताली पाए त कसैले आलोचना । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने हाँसोको पात्र बनिन् ।

शाहीले भाषणमा पटक पटक गल्ती गरिन् । कहिले शेरबहादुर देउवालाई काँग्रेस अध्यक्ष भनिन् त कहिले एमाले महासचिव ईश्वर पोखरेल भनिन् । उनले बोल्दा उपस्थितहरु हाँस्न थाले । उनी झन् नर्भस भइन् । खाडीमा युवाहरु १०० डिग्रीमा काम गर्न वाध्य भएको बोलिन् । जबकि १०० डिग्रीमा पानी नै उम्लन्छ । खाडीमा अधिकतम ५० डिग्री पुग्छ ।

आखिर राप्रपा अध्यक्ष लिङ्देन आफू नगई किन शाहीलाई पठाए ? उनी पार्टी संगठन निर्माणका लागि काठमाडौं बाहिर थिए । अर्कोतर्फ, काँग्रेस महाधिवेशनमा नेताहरुलाई जनताले चोर भन्छन् भनेर चर्चा बटुलेका थिए ।

लिङ्देनले उपाध्यक्षहरु विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्कीमध्येलाई पठाउन खोजेका थिए । पाण्डे प्रचण्डसँग चुनाव लडेका थिए । उनको प्रचण्डसँग निकै ठूलो टकराव छ । प्रधान भाञ्जाको निधनले शोकमा छन् । कार्की पनि देशबाहिर रहेको बुझिएको छ ।

महामन्त्रीमध्ये धबल शमशेर राणा नेपालगञ्जमै थिए । माओवादीले अचानक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । निम्तो पनि ११ पौषको विहान नै दिएको थियो । पदाधिकारीमध्ये काठमाडौंमा रहेकी कुन्ती शाही मात्र थिइन् । यसकारण लिङ्देनले शाहीलाई पठाए । तर, लिङ्देनको निर्णय सही ठहरिएन । शाही हाँसोको पात्र बनिन् ।

शाहीले भाषण गर्न नजानेपछि धेरैले रेखा थापालाई सम्झिए । रेखा महामन्त्रीमा कुन्तीबाट पराजित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot