Logo

शेखरको निष्कर्षः कोइराला परिवार एक बनाउन नसक्दा पराजय



काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई सुजाता कोइरालाले पटक पटक भेटी परिवार मिल्ने विषय राखिन् । उनले सुरुमा परिवार मिलेपछि आफ्नो समूह पनि बलियो हुँदै आउने र पार्टीमा पकड बलियो बनाउन सकिने प्रस्ताव राखिन् । तर, शेखरले त्यसलाई प्राथमिकतामा राखेनन् ।

कोइराला परिवारका आफूसहित सुजाता कोइराला र डा. सशांक कोइराला एक भई पत्रकार सम्मेलन गरी मिलेर अगाडि बढ्ने घोषणाको प्रयास गरे । सुजाता तयार भइन् तर सशांक भएनन् । सुजाताले शेखरलाई पटक पटक भेटी आफ्नो इच्छा पनि राखिन् । तर, त्यसलाई शेखरले बेवास्ता गरे । उनले आफूसँग रहेको टिमका अन्य नेतालाई चिढ्याउन चाहेनन् । उनले नसोचेको परिणाम भयो ।

सुजाता कोइराला उम्मेदवारी दर्ताको दिन विहान प्रकाशमान सिंहसँग मिल्न पुगिन् । उपसभापतिको उम्मेदवार बनिन् । सशांक कोइराला तटस्थ भूमिकामा बसे । सुजाता र सशांक दुवै मिलेको देखिन्थ्यो । शेखरले साथ पाएनन् ।

पछिल्लो समय शेखर कोइरालाले आफू सभापतिमा पराजित हुनुको समिक्षा गर्न थालेका छन् । उनले कोइराला परिवार एक हुन नसक्दा हार व्यहोर्नुपरेको बताएका छन् । सुजाता र सशांकलाई मिलाउन नसक्नुलाई आफ्नो कमजोरीको रुपमा स्वीकारे ।

विश्वस्त स्रोतका अनुसार शेखर कोइरालासँग रहेका टिमका केही नेताले सुजाता र सशांकलाई कमजोर आँकलन गरेर ब्रिफिङ गरे । कतिपयले उनीहरु अर्को टिममा जान नसक्ने भने । उनीहरुले आफ्नो व्यवस्थापन चाहेकोमा रोकेर आफै बन्न उनका टिमका प्रभावशाली नेता लागेको बुझिएको छ । जसका कारण सुजाता र सशांक शेखर कोइरालाको टिममा पनि अट्न सकेनन् ।

सशांक लोकप्रीय मत ल्याई केन्द्रीय सदस्य निर्वाचित भए । सुजाता पनि उपसभापतिमा ६४४ मत ल्याउन सफल भइन् । जुन मत उनको टिमका सभापतिका उम्मेदवार प्रकाशमान सिंहको भन्दा झण्डै दोब्बर थियो । अर्कोतर्फ, कोइराला परिवार एक नहुँदा सन्देश शेखरलाई बेफाइदा हुने गरी पुग्यो । यसले पनि उनको पक्षमा लहर आउन सकेन । दोस्रो चरणको सभापतिको प्रतिष्पर्धामा पनि सुजाता देउवाको पक्षमा खुलिन् । सशांक तटस्थ नै बसे । यसले पनि प्रतिष्पर्धामा असर पर्यो । देउवा सजिलै जिते ।

देउवासँग दोस्रो चरणमा प्रतिष्पर्धामा पराजित भएका शेखरलाई २०औं वरियतामा राखियो । देउवाले उनलाई पेलेरै जाने रणनीति बनाएको स्पष्ट भएको छ । परिवार व्यवस्थापन नगर्दा शेखर कोइरालालाई राजनीतिक जीवनमा ठूलो धक्का पर्यो । जसको महशुश उनले चुनाव हारेपछि गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्