Logo

‘ओमिक्रोन’ फैलिएपछि फ्रान्समा कडा प्रतिबन्धको घोषणा



एजेन्सी, १३ पुस। फ्रान्सले कोभिड १९ को ओमिक्रोन भेरियन्टको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कडा प्रतिबन्‍धहरु लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री जिन कास्टेक्सले महामारी ‘कहिले अन्त्य नहुने फिल्मजस्तो’ भन्दै संक्रमण थप फैलिन रोक्न नयाँ योजना सार्वजनिक गरेका हुन्।

फ्रान्समा शनिवार महामारी सुरु भएयता नै सबैभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको थियो। १ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएपछि सरकारले नयाँ नियम लागू गरेको हो। तर, न्यू एयर इभ कर्फ्यू लागू भने गरिएको छैन।

जनवरीदेखि घरबाटै काम गर्न सक्ने सबैलाई ‘वर्क फ्रम होम’ अनिवार्य गरिने भएको छ। यसरी काम गर्नेहरुले कम्तीमा तीनदिन घरबाट काम गर्नुपर्नेछ। यस्तै, ‘इन्डोर इभेन्ट’मा दुई हजारजनासम्म मात्रै भेला हुन पाउने भएको छ। खुल्ला स्थानमा हुने समारोहमा भने ५ हजारजनासम्म मात्रै सहभागी हुन पाउनेछन्। यस्तै, लामो दुरीको यात्रा गर्दा बिचमा खान र पिउन पनि रोक लगाइने भएको छ।

संक्रमण नियन्त्रण गर्न नाइटक्लबहरु अर्को सूचना जारी नभएसम्म बन्द रहने बताइएको छ। क्याफे र बारहरुले टेक अबे सेवा मात्र संचालन गर्न पाउनेछन्। शहरी क्षेत्रमा मास्क अनिवार्य गरिएको छ।

फ्रान्सका स्वास्थ्य मन्त्री ‌ओलिभर भेरानले कोरोना भाइरस संक्रमण हरेक दुई दिनमा दुई गुणा बढ्दै गएको भन्दै नयाँ संक्रमणको ‘मेगा वेभ’ आउन सक्ने चेतावनी दिएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot