Logo

आरजु राणा किन गइन् दिल्ली ?



काठमाडौं, १३ पौष । यतिबेला नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा दिल्लीमा छिन् । काँग्रेसको महाधिवेशनपछि चुनावी नतिजा समेत सकिएपछि उनी दिल्ली लागेकी हुन् ।

आरजुले शनिबार केन्द्रीय सदस्यको प्रमाणपत्र समेत लिइन् । खुल्ला महिलातर्फ केन्द्रीय सदस्य जित्दा तेस्रो सर्वाधिक मत ल्याइन् । शेरबहादुर देउवालाई सभापतिमा जिताउन आरजुले महत्वपूर्ण भूमिका खेलिन् । आरजुकै कारण देउवाले यसपटक सभापतिको कठिन चुनाव पार पाएको चर्चा पनि छ ।

आरजुलाई माइतीतर्फले पनि महाधिवेशनमा खूबै साथ दिए । उनका भाई भूषण राणा निकै खटिए । मुटुमा समस्याका बाबजुद पनि राणा खटिएका थिए ।

उनै भूषण राणाको मुटुको शल्यक्रिया गर्न आरजु दिल्ली पुगेको बुझिएको छ । राणा मधुमेह र उच्च रक्तचापको समस्यासँग जुध्दै आएका छन् । यसले उनको मुटुमा समस्या आयो । उपचारका लागि उनलाई फोर्टिज अस्पतालमा भर्ना गरियो । जहाँ उनको शल्यक्रिया भयो ।

आरजुले दिल्ली बसाईंका क्रममा कुनै पनि राजनीतिक भेटघाट नगर्ने भनिएको छ । तर, केही गोप्य भेटहरु भएको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने चर्चा छ । यस अगावै आरजु दिल्ली पुग्दा चासो भने बढेको छ । तर, उनले भेट्न आउने काँग्रेसनिकट शुभचिन्तकलाई नितान्त भाइको उपचारका लागि आएको भनेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot