Logo

बयलवासमा गोली चल्यो, मेयरसहित दर्जनौं घाइते



सर्लाही, पुस १४। सर्लाहीको ईश्वरपुर नगरपालिकामा गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।

आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । यो विषयलाई लिएर सोमबार र मंगलबार पनि ईश्वरपुरको बयलवास बजारको अवस्था तनावपूर्ण बनेको थियो ।

यो घटनापछि प्रहरी र आन्दोलनमा उत्रेका स्थानीयबीच झडप भएको छ । झडपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित दर्जन प्रहरी घाइते भएका छन् । यसैगरी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटासहित दर्जनौं प्रदर्शनकारीसमेत घाइते भएका छन् ।

आन्दोलित स्थानीयवासीले ईश्वरपुर नगरपालिकाका प्रमुख देवकोटामाथि समेत आक्रमण गरेका छन् । मृतक रामकुमार महतोको परिवारसँग भेट्न उनकै घरमा पुगेका नगर प्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको हो । नगर प्रमुख देवकोटा चढ्ने ना१झ १५७० नम्बरको सुमोको सिसा पनि तोडफोड भएको छ ।

त्यस्तै, एक बालकसहित दुई जनालाई प्रहरीको गोली लागेको छ । गोली लागेकामध्ये मृतकका भान्जा १५ वर्षीय सञ्जय महतो र चन्द्रनगर गाउँपालिका–२ बस्ने दिगम्बर महतो रहेको छ । गोली बालकको दाहिने खुटामा लागेको र प्रहरीले जबरजस्ती समाती घुँडामा गोली हानेको ईश्वरपुरका प्रत्ययक्षदर्शी नन्दलाल कुशवाहाले जानकारी दिए । त्यस्तै, दिगम्बरलाई रबरको गोली लागेको हँुदा प्राथमिक उपचारपश्चात् घर फर्केका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा हिजो मलंगबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot