Logo

ललिता निवास प्रकरण : न्यायाधीश खतिवडा र भट्टराईले ५ लाख धरौटीमा रिहा गरेका दीप बस्न्यात फरार !



काठमाडौं, १४ पुष । ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । सिआइबीले ललित निवास जग्गा प्रकरणका मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी दम्पतीलाई पक्राउ गरेलगत्तै बस्न्यात फरार भएको स्रोतको दाबी छ।

सिआइबीले सुवेदी दम्पतीलाई गत साता पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने यस प्रकरणरमा अनुसन्धानले दोषी देखाएका विरुद्ध मुद्दा दायर गर्ने मिति नजिकिँदैछ । आफूलाई पनि बयानका लागि पक्राउ गर्नसक्ने देखेर बस्न्यात उपचारको बहानामा भारत छिरेको बताइएको छ । उनी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको स्रोतको भनाई छ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ । बस्न्यातले तयार पारेको प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातसहित ११० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले त्यतिबेला बस्न्यातमाथि ९ करोड ६५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा अनियमितता गरेको आरोप लगाएको थियो । बस्न्यात सचिव हुँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ ।

बस्न्यातलाई न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पुर्पक्ष थुनाको साटो ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । विशेष अदालतले बस्न्यातलाई पुर्पक्ष थुनामा पठाएकोमा त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot