Logo

‘विपीका अनुयायी हौं भन्नेहरुले नाटक गर्नेमात्र होइन्, त्यसलाई बुझेर देशलाई अगाडि बढाउन सक्नुपर्छ’ : रामचन्द्र पौडेल (भिडिओसहित)



नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विपीका अनुयायी हौं भन्नेहरुले अब नाटकमात्रै गर्ने नभएर त्यसलाई बुझेर देशलाई अगाडि बढाउन सक्नुपर्ने धारणा राखेका छन् । आज मेलमिलाप दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले एमालेले हालै सम्पन्न गरेको आफ्नो दशौं राष्ट्रिय महाधिवेशनमा पनि कुनै नीतिगत र सैद्धान्तिक बहस केही पनि नगरेको टिप्पणी गरे । उनले भने,‘एमालेले तामझाममात्र गरेको हो । माओवादी पार्टीले पनि नेपालको आर्थिक, राजनीतिक र सामाजिक समस्या के हुन् र त्यसको समाधानको बाटो के हो ? भन्ने कुरा खुलेर भन्न सकेका छैनन् । प्रचण्डका बोलीमा पनि मैले गोलमटोल देखिरहेको छु । हाम्रो काँग्रेस त कस्तो भयो भन्नुहुन्छ भने ‘क्षेत्रीको माम्लो जसो गरे, उसै राम्रो’ भनेर हामीले पहिलेपहिले पढ्ने गर्दथ्यौं । हाम्रो पार्टीलाई अहिले त्यसै बनाइएको छ ।’ प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

बिपी कोइराला आजको दिन मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । आजको दिनमा नेपाली काँग्रेसभित्र बिपीको मेलमिलापको सान्दर्भिकता छ, अथवा यसको औचित्य सकियो ?

बिपी कोइरालाले २०३३ सालमा भारतमा निर्वासनमा रहँदा जुन अनुभव गर्नुभयो, यहाँको राजनीति, अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय राजनीतिबारे जुन कुरा देख्नुभयो, त्यसलाई उहाँले ध्यानमा राखेर धेरै र सोचविचार गरेर अब मैले बाहिर बसेर हतियार बोकेर लोकतन्त्र पुनस्थापना गर्ने आन्दोलन जारी राख्दा यो प्रतिउत्पादक हुन लाग्यो साथै, यसले चाहेको लक्ष्यमा पुर्याउन सकेन भन्ने सोचेर बिपीले एउटा अत्यन्त डाइनामिक निर्णय गर्नुभयो । त्यसको लागि म र उहाँको बीचमा पनि ३ दिनसम्म बहस भएको थियो । उहाँले मलाई धेरै तर्क दिएर चिक्त बुझाउने कोशिस गर्नुभएको हो । त्यसपछिमात्र मैले उहाँसँग तपाईंलाई काठमाडौंमा स्वागत गर्छु भनेर आएको थिएँ । उहाँले जुन मर्मलाई बोकेर नेपाल आउनुभएको थियो । तर, उहाँले देखाएको बाटोलाई दरबारले पनि बुझ्न चाहेन् त्यसपछि काँग्रेसकै अधिकांश साथीहरुले पनि बुझ्न सकेनन् । त्यसले गर्दा नेपालको राजनीतिको गाँठो अड्किएर बसिरहेको छ । नेपालले आफ्ना छिमेकी राष्ट्रहरुसँग जुन किसिमले सम्बन्ध विकास गर्नुपर्ने थियो, त्यसरी अगाडि बढ्नसकेको छैन् । त्यसले गर्दा छिमेक राष्ट्रहरुसँग कताकता अमिलोपन र अविश्वास अझैपनि कायमै देखिन्छ । त्यसकारणले त्यो मेलमिलापको मर्म अहिलेपनि त्यत्तिकै सान्दर्भिक रहेको छ । अहिलेको अवस्थामा राजा त गइसके, तरपनि राष्ट्रको सवाल जहाँको त्यहीँ रहेको छ । त्यसैले बिपीका अनुयायी हौं भन्नेहरुले नाटक गर्ने मात्र होइन्, त्यसलाई बुझेर देशलाई अगाडी बढाउन सक्नुपर्छ ।

तर, नेपाली काँग्रेस कम्युनिष्टहरुको चंगुलमा फसेको छ, तपाईंहरु प्रचण्डपथमा हिँड्न थाल्नुभयो भन्छन् नि मान्छेहरु ?

पहिलो कुरा त काँग्रेसले आफ्नो सिद्धान्त के हो ? आफ्नो मार्गदर्शन के हो ? भन्ने कुरा चिन्नुपर्छ । काँग्रेसले आफुले आफुलाई चिन्नुपर्छ । मैले के दखिरहेको छु भने शब्दमात्र समातेर बस्ने, कालिदासले मेरो ‘क’ दुब्लायो भनेर रोएजसरी काँग्रेसमात्र भन्नुको केही पनि अर्थ छैन् । समाजवाद, राष्ट्रियता र लोकतन्त्रको अर्थ बुझेर जाने हो भने हाम्रो अग्रज चिन्तकहरुले बोकेको सिद्धान्तलाई समातेर जाने हो भने हामी अर्काको एजेण्डामा लाग्नैपर्दैन् । तर, आफ्नै एजेण्डा पनि समात्ने ढंग नपुगेको नेतृत्व अथवा हाम्रा साथीहरु भएको हुँदा जनतालाई यो पार्टी कसको एजेण्डामा हिँड्यो भन्ने लाग्न सक्छ । पछिल्लो समय यो भ्रम व्याप्त भइरहेको छ ।

तपाईंले त्यो भ्रम चिर्न पनि सक्नुभएन । सडक, सत्ता र सदनमा पनि कम्युनिष्टहरु छन् । अब तपाईंहरु के गर्नुहुन्छ ?

मैले भ्रम चिर्ने कोशिस प्रशस्त गरेको छु । मेरा कुराहरु नेपाली काँग्रेसले सुनेको छैन् । यो पार्टी यस्तो अन्धविश्वासी भएर हिँडेको छ । कसले कहाँ के बोलेको छ भन्ने कुरा नेपाली काँग्रेसले बुझ्न कोशिस गर्नपर्छ । काँग्रेसले यही महाधिवेशनमा पनि नीति तथा कार्यक्रमहरु पेश गरेन तर, मैले मेरो आफ्नो विचार काँग्रेसको अबको बाटो भनेर दिएको छु । आम काँग्रेसका साथीहरुलाई मैले आफ्ना विचारहरु राखेर पटक–पटक ध्यानाकार्षण गराएको छु । तर, उहाँहरुले बुझ्नुहुन्छ अथवा बुझ्नु हुँदैन्, ध्यान दिनुहुन्छ अथवा हुँदैन्–यो मैले बुझ्न सकेको छैन् । यही कारणले अहिलेको अवस्थामा नेपाली काँग्रेस कम्युनिष्टको एजेण्डामा चलेको हो कि भन्ने भ्रम जनतामा परेको छ । नेपाली कांग्रेसका नेताहरु आफ्नो एजेण्डा बोकेर जनतामा गएपछि सबै जनता हाम्रो पार्टीमा आउँछन । त्यो मलाई विश्वास छ ।

नेकपा (एमाले)ले पहिला महाधिवेशन गर्यो, अहिले माओवादी केन्द्रको पनि महाधिवेशन चलिरहेको छ । त्यहाँपनि नीति र विचारको कुरा छ । तर, नेपाली काँग्रेसमा किन नेतृत्वको कुरा मात्र भयो ?

एमालेले पनि कुनै नीतिगत र सैद्धान्तिक बहस केही पनि गरेको छैन् । तामझाममात्र गरेको हो । माओवादी पार्टीले पनि नेपालको आर्थिक, राजनीतिक र सामाजिक समस्या के हुन् र त्यसको समाधानको बाटो के हो ? भन्ने कुरा खुलेर भन्न सकेका छैनन् । प्रचण्डका बोलीमा पनि मैले गोलमटोल देखिरहेको छु । हाम्रो काँग्रेस त कस्तो भयो भन्नुहुन्छ भने ‘क्षेत्रीको माम्लो जसो गरे, उसै राम्रो’ भनेर हामीले पहिलेपहिले पढ्ने गर्दथ्यौं । हाम्रो पार्टीलाई अहिले त्यसै बनाइएको छ । त्यसोभएको हुनाले हाम्रो पार्टीलाई सिद्धान्तमा हिँडाउन हाम्रो नेतृत्वले कोशिस नगरेको कारणले जनता अन्योलमा छन् । नेपालको राजनीति नै अन्योलमा रहेको छ ।

बिपी कोइरालाले कम्युनिष्टसँग मिल्नु हुँदैन्, काँग्रेसलाई घाटा हुन्छ भन्नुहुन्थ्यो । तर, तपाईंहरु बिपीको भावनाविपरित जानुभयो नि होइन् ?

यो अन्धविश्वास हो । आज तपाईं संविधान बनाउनु हुन्छ समावेशी । आज तपाईं कुनैपनि पार्टीले बहुमत ल्याउन नसक्ने खालको संविधान बनाउनुहुन्छ । आज तपाईं संयुक्त सरकारमा जाने मिल्ने खालको संविधान बनाउनुहुन्छ । सिस्टम त्यस्तै बनाउनुहुन्छ । तर, तपाईं कसैसँग मिल्नुहुदैन् भन्ने खालको सोच ल्याउनुहुन्छ भने त्यो मिल्दैन् । एक किसिमको राजनीतिक सोच चाहिन्छ । हाम्रा साथीहरुबाट केही विचारहरु आएका छन् । त्यसले पार्टीलाई कहाँ पुर्याउछ ? त्यसबारे कसैले सोचेको छ ? नेपालमा कम्युनिष्ट कोही पनि छैन् । यहाँ पार्टीहरुसँग मिलेर जाने हो । नेपालको समाजलाई रुपान्तरण गर्न, नेपाललाई लोकतान्त्रीकरण गर्न र काँग्रेस आफँैलाई लोकतान्त्रीकरण गर्न नेपाली काँग्रेसका आफ्नै एजेण्डाहरु पर्याप्त रहेका छन् । यो कुरालाई काँग्रेसले जनताका बिचमा राख्न सकेको छैन् । यस्तो बाटो काँग्रेस लाग्यो भने देश, जनता र पार्टी सबैलाई फाइदा हुन्छ ।

प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा नेपालीपन भएको जनताको चाहनाअनुसारको समाजवाद ल्याउनुपर्छ भन्नुभएको छ, यस विषयमा तपाईंको धारणा के छ ?

त्यो पनि मेरो शब्द चोरेका हुन् । मैले नेपालको विकासको मोडल सधँै भन्ने गरेको छु–समाजवादमात्र भनेर हुँदैन, जनताको आर्थिक, सामाजिक समस्याको हल गर्न आर्थिक उन्नती कसरी गर्ने भन्दा नेपालको वास्तविक धरातलीय यथार्थमा साधारित भएर नेपालमा के संभावना छन् ? कुन कुरालाई मुख्यरुपमा हेर्दा नेपाली जनतालाई सुःख मिल्छ ? हाम्रो विशेषता के हुन् ? अन्तराष्ट्रिय बजारमा जाँदा के गर्ने ? गरिबि कसरी हटाउन सक्छौ ? भन्ने जस्ता कुरालाई मध्येनजर गरेर आफैँ सोच्नुपर्छ । अदालतमा हेर्नुहोस त, के भईरहेको छ ? यो भनेको नेपालका राजनीतिक दलहरुको बेईज्जत हो । एउटा निर्णय पनि दिन नसक्ने ? यस्तो पनि हुन्छ ?

 

 



प्रतिक्रिया दिनुहोस्