Logo

‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन दिने तयारी भैरहेको छ : सञ्चारमन्त्री कार्की



काठमाडौँ, १७ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारलाई पनि आग्रह गरेका हुन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकरी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् । उनले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारसँगै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा सधैँ दृढतापूर्वक उभिने दोहोर्याए ।

‘अनलाइन पत्रकारिताले व्यावसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाइरहेको छ । अबका दिनमा पनि यस्तै कार्य अझ परिष्कृत रुपमा अघि बढन सकून् भन्ने अपेक्षा गर्दछु । विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईंबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । र, यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईंको साथमा रहेर काम गर्नेछ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्