Logo

सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित



काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए । पहिलो चरणमा सिंह तेस्रो र निधि चौंथो स्थानमा परेपछि दोस्रो चरणको मतदानमा दुवैले देउवालाई सघाएका थिए ।

उपसभापतिमा पराजित विजयकुमार गच्छेदार र सुजाता कोइराला पनि केन्द्रीय सदस्यमा मनोनित गरिएका छन् । गच्छेदार देउवा समूहबाट उम्मेदवार थिए । उनी धनराज गुरुङभन्दा २ मतले पछि पर्दा पराजित भएका थिए । सुजाता कोइराला प्रकाशमान सिंहको समूहबाट उम्मेदवार भई उपसभापतिमा पराजित भएकी थिइन् ।
महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत पनि केन्द्रीय सदस्य मनोनित गरिएका छन् ।

देउवाले डा. शेखर कोइराला समूहबाट उपसभापतिमा पराजित चन्द्र भण्डारी, आफ्नै समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल र विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा पराजित दिव्यश्वरी शाह र महामन्त्रीमा पराजित डा. राजाराम कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेनन् ।



प्रतिक्रिया दिनुहोस्