Logo

देउवाले कल्याण गुरुङ्ग, चन्द्र भण्डारी र प्रदीप पौडेललाई किन केन्द्रीय सदस्य मनोनित गरेनन् ?



काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुसार ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् । जसमध्ये आज १० जना मनोनित गरेका छन् ।

देउवाले सभापतिमा पराजित २, उपसभापतिमा पराजित २, महामन्त्रीमा पराजित १ जना र बाँकी ५ जनालाई मनोनित गरेका हुन् ।

सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्य मनोनित गरेपनि कल्याण गुरुङ्गलाई गरेनन् । सिंह, निधि र गुरुङ्गले दोस्रो चरणको प्रतिष्पर्धामा देउवालाई सघाउने घोषणा गरेका थिए ।

सिंह १२औं महाधिवेशनका निर्वाचित महामन्त्री हुन् भने निधि १३औं महाधिवेशन पछि मनोनित उपसभापति हुन् । नेविसंघ पूर्वसभापति गुरुङ्ग भने अहिलेसम्म काँग्रेस पदाधिकारी बनेका छैनन् । उनी अरु नेताभन्दा जुनियर नै हुन् ।

उपसभापतिमा पराजित विजयकुमार गच्छेदार र सुजाता कोइराला दुवै पूर्व उपप्रधानमन्त्री हुन् । गच्छेदार पूर्व उपसभापति पनि हुन् । गच्छेदार देउवा र कोइराला प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनी पराजित भएका थिए । तर, डा. शेखर कोइराला प्यानलबाट उपसभापतिमा पराजित चन्द्र भण्डारी केन्द्रीय सदस्य मनोनित भएनन् । देउवाले उनलाई महत्व नदिएको बुझिएको छ ।

महामन्त्रीमा देउवा समूहबाट पराजित डा. प्रकाशशरण महत केन्द्रीय सदस्यमा मनोनित गरिए । तर, देउवाकै समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल केन्द्रीय सदस्य मनोनित गरिएनन् । पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । सिटौला भने आजै केन्द्रीय सदस्य मनोनित गरिए ।

देउवाले आज मनोनित गर्दा पूर्व पदाधिकारीलाई महत्व दिएका छन् । पूर्वपदाधिकारी नभएपनि महाधिवेशनमा पदाधिकारीमा पराजित भई केन्द्रीय सदस्य मनोनित हुनेमा देउवा इतर समूहबाट सुजाता कोइराला मात्र पर्छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot