Logo

ठेक्का पक्की पुलको, बन्यो बाँसको



बिर्तामोड, पुस १८। झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् ।

पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् ।

खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाइकल २० र प्रतिमोटरसाइकल एक सय रुपियाँसम्म ठेकेदारले रकम असुल्दै आएका छन् ।बिरिङ खोलामा चार वर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ वर्ष बितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन ।

लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा १५ करोड ५० लाख मूल्यमा लागेको ठेक्का अहिले अलपत्र जस्तै बनेको छ । यसरी वर्षौं बितिसक्दासमेत काम नभएकोमा स्थानीय आक्रोसित बनेका छन् ।तीन सय १९ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दासमेत पुल निर्माण भएको छैन ।

पुल नजिक हुलाकी सडकको काम धमाधम बन्न थालेको छ तर पुल नबन्दा मानिसले वर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलको जोखिम यात्रा गर्दासमेत हिंड्दा पैसा तिर्नुपर्ने बाध्यता हट्न सकेको छैन । लामो समयपछि गत वर्ष एउटा स्पानमा ढलाई भएको छ ।

लकडाउन र वर्षाको कारण देखाउँदै रोकिएको काम अहिले सुस्त गतिमा चलिरहेको छ । वर्षौपछि चलेको काम अब दुई वर्षमा सम्पन्न गर्ने काममा खटिएका कर्मचारीले बताएपनि विश्वास गरिहाल्ने अवस्था नरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot