Logo

निर्मला पन्त हत्या: पक्राउ परेका अली नै अभियुक्त हुन् ?



काठमाडौं, १९ पौष । साँढे तीन वर्ष भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दर्जनौं संदीग्ध ठानेर अनुसन्धान गर्यो । तर, अझै पत्ता लाग्न सकेको छैन ।
निर्मला पन्तको उखुबारीमा निर्ममतापूर्वक हत्याको घटनाले राजधानीमा समेत विरोध प्रदर्शनहरु भए । निर्मलाका हत्यारा पत्ता लाग्नुपर्ने आवाज उठे । प्रहरीले निकै प्रयास गर्यो । तर, अझै सफल हुन सकेको छैन ।

निर्मला हत्याकाण्डमा प्रमाण मेटाएको भन्दै प्रहरी अधिकृतहरु समेत कारबाहीमा परे । उनीहरुमाथिको कारबाही फुकुवा भयो । काममा फर्किए । अहिले फेरि निर्मला हत्या प्रकरणमा एकजना शंकास्पद पक्राऊ परेका छन् ।

संदीग्ध भारतीय नागरिक निकाल अली हुन् । उनलाई भारतबाट पक्राऊ गरी ल्याइएको छ । १५ दिनयता उनीमाथि अनुसन्धान चलिरहेको छ । प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको छ । प्रहरीले डिएनए परीक्षणपछि मात्र सबै खुलाउने बताएको छ ।

डिएनए परीक्षण नमिलेसम्म अलीमाथिको आरोप पुष्टि हुन कठिन छ । अदालतले प्रमाण खोज्छ । अर्कोतर्फ, यो विषय पुरानो भइसकेको छ । बयानका आधारमा मात्र प्रमाण बलियो हुँदैन ।

१५ दिनसम्म संदीग्धलाई हिरासतमा राखेर अनुसन्धान गर्नुले प्रहरीले केही तथ्य पत्ता लगाएको बुझिएको छ । यसकारण भारतमा रहेका अलीलाई नेपाल झिकाइयो ।
अली निर्मलाको हत्या भएकै ठाउँ नजिक तरकारी खेती गरेर बस्थे । उनले जग्गा भाडामा लिएका थिए । यसकारण उनीमाथि शंकाको सुई घुम्यो ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कदै गर्दा बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विभत्स अवस्थामा उखुबारीमा फेला परेको थियो । देशभित्र र बाहिर समेत यो घटनाले चासो पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्