Logo

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको मनोनयन दर्ता आज



काठमाडौं, पुस २० । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमति गर्दै सिट संख्यामासमेत भागबन्डा गरेका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट बाँडफाँट भएको हो । रिक्त हुनेमा नेकपा एमालेको आठ सिट छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ ।

सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउनेगरी सहमति भएको हो ।

राष्ट्रिय सभामा एक मनोनीतसहित चारवर्षे कार्यकाल पूरा गरेका २० जनाको पद २० फागुनबाट रिक्त हुँदै छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ दल दर्ता भइसकेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्