Logo

शेरबहादुर देउवाले गुटको होइन् जुटको राजनीति गर्नुहुन्छः खतिवडा (भिडियोसहित)



नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता रामहरि खतिवडाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले गुटको नभई जुटको राजनीति गर्ने दाबी गरेका छन् । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कुराकानीका क्रममा खतिवडाले भने ‘उहाँले गुटको राजनीति गर्नुहुँदैन भन्ने मलाई विस्वास रहेको छ किनभने उहाँसँग दुई पटक सभापतिमा हारेको अनुभव पनि रहेको छ भने दुई पटक जितेको अनुभव पनि रहेको छ । अब उहाँ तेस्रो पटक सभापति हुनेपनि होइन् । अनि उहाँले के लागी गुटको राजनीति गर्न पर्ने जरुरी छ र ? म सबैको सभापति हो भनेर उहाँले पहिलो दिन नै भन्नुभएको छ’।

साथै, उनले अहिलेको अवस्थामा नेपाली राजनीतिको मियो जताबाट जे गरेपनि नेपाली काँग्रेसकै वरिपरि घुमिरहेको बताएका थिए । प्रस्तुत छ नेता खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

देशको राजनीति कता जाँदैछ ? नेपाली काँग्रेस कहाँ जाँदैछ ? सभापति शेरबहादुर देउवाले के गर्दै हुनुहुन्छ ?
अहिलेको अवस्थामा नेपाली राजनीतिको मियो जताबाट जे गरेपनि नेपाली काँग्रेसकै वरिपरि घुमिरहेको देखिएको छ । भर्खर हामीले महाधिवेशन सम्पन्न गरेका छौं । काँग्रेसले महाधिवेशन गर्नै सक्दैन् भन्नेलाई एउटा गतिलो जवाफ गएको छ । वडादेखि केन्द्रसम्म चुनावको माध्यमबाट योग्य मान्छेहरु आउनुभएको छ । संविधानअनुसार प्रदेशमा प्रतिनिधित्व गराउने पहिलो पार्टी भएको छ । संविधान र विधानअनुसार काँग्रेसले आजसम्म महाधिवेशन सम्पन्न गरेको छ । जुन अधिवेशनबाट ७० प्रतिशत भन्दा बढी युवा साथीहरु केन्द,्र प्रदेश र जिल्लामा प्रतिनिधित्व गरेर आएका छन् । साथै, पुरानो नेतृत्वलाई पनि सम्मान गर्ने वातावरण भएको छ । त्यसैले अहिलेको अवस्था राम्रो रहेको छ । खुसीकै कुरा रहेको छ ।

तपाईंले यसो भनिरहँदा, हिजो डा.शेखर कोइरालाले आफु निकटका मान्छेलाई बोलाएर शेरबहादुर देउवाले हाम्रो अस्तित्व स्विकार गर्नुभएन्, अब हामी चुप लागेर बस्दैनौं भन्नुभएको छ ?
म डा. शेखर कोइरालाको सक्रियतालाई सम्मान गर्न चाहन्छु र उहाँको पार्टीप्रतिको लगानी र इमानदारिताप्रति धन्यवाद प्रकट गर्न चाहन्छु । चुनावमा हार÷जित हुन्छ, तर हाम्रो एउटा सुःखद पक्ष के छ भने– ‘हाम्रो विभेदहरु चुनाव पछाडी बन्द हुन्छन् । चुवान पछाडी एकताको सन्देश लिएर हामी अगाडी बढ्छौं’ । मनोनितको कुरामा उहाँहरुको केहिँ असन्तुष्टि भएको कुरा मैले बुझेको छु । धेरै योग्य साथीहरु चुनावमा भाग लिँदा पराजित हुनुभएको छ । तर, पार्टी भित्र एउटा सन्देश गएको छ । पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा एउटा उपसभापति र सहमहामन्त्री मात्र हुनुहुन्छ । यस हिसाबमा मतदाताहरुले सबैलाई ब्यालेन्स गर्नुभएको छ, यसलाई सबैले सम्मान गर्नुपर्छ ।

१३ जना केन्द्रीय सदस्य मनोनित गर्दा एकजना पनि शेखर कोइराला पक्षको परेनन्, शेरबहादुर देउवाले सम्मान गरेको खोइ त ?
यहाँ कुन समूहको परे वा कुन समूहको परेनन् भन्ने होइन् । रामचन्द्र पौडेल पनि सबैको साझा नेता हो । उहाँलाई पाखा लगाएर राजनीति गर्नु हुँदैन् । उहाँलाई पनि साथमा लिएर जानुपर्छ । प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, सुजता कोइराला जस्ता साथीहरु पनि हुनुहुन्छ । अहिलेको १४औं महाधिवेशनमा नुना कोइरालाका छोरा, गिरिजा प्रसाद कोइरालको छोरी, गणेशमान सिंहको छोरा अनि महेन्द्र नारायण जिका छोराहरुले हार्नुभएको छ । त्यसैले यी सबै नेताहरुलाई ल्याउन पर्ने आवस्यकता रहेको थियो । उहाँहरुलाई ल्याएकोमा त उहाँले पनि विरोध गर्नुभएको छैन् । सबैलाई मिलाउनुपर्दा शेरबहादुरजीलाई पनि गाह्रो भएको होला । अबका दिनमा शेरबहादुर देउवाले गुटको आधारमा होइन, जुटको आधारमा राजनीति गर्नुपर्छ ।

तपाईंले यसो भनिरहँदा हिजो डा. शेखर कोइरालाले शेरबहादुरजीले प्रतिशोध साध्न लाग्नुभया, उहाँले अहिले देखिनै गुटको राजनीति गर्न थाल्नुभयो, डा. मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी जस्ता नेतालाई ल्याउनु पर्दैन् भनेर प्रश्न उठाउनुभएको छ । यस विषयमा तपाईंको धारण के हो ?
अब अझैपनि मनोनित गर्न बाँकी नै रहेको छ । शेरबहादुरजीलाई पनि गाह्रो नै छ । तर, योग्य मान्छे ल्याउने हो, नल्याउने भन्ने होइन् । पार्टीलाई आवस्यकता पर्ने साथीहरु आउनुहुन्छ । उहाँले गुटको राजनीति गर्नुहुँदैन भन्ने मलाई विस्वास रहेको छ किनभने उहाँसँग दुई पटक सभापतिमा हारेको अनुभव पनि रहेको छ भने दुई पटक जितेको अनुभव पनि रहेको छ । अब उहाँ तेस्रो पटक सभापति हुनेपनि होइन् । अनि उहाँले के लागी गुटको राजनीति गर्न पर्ने जरुरी छ र ? म सबैको सभापति हो भनेर उहाँले पहिलो दिन नै भन्नुभएको छ । सरकारमा पनि हामी नै रहेका छौं । यो समयमा महाधिवेशन सम्पन्न गरेर युवा साथीहरु आउनुभएको छ । निर्वाचन पनि आउँदै छ, यो समयमा युवाहरुको साथमा पार्टी अगाडी आउनुपर्ने बेला छैन् । हामीले एकताको सन्देश दिने बेला भएको छ । तेरो र मेरो भन्दापनि हामीले हाम्रो र राम्रो मान्छे ल्याएर काम गर्नुपर्छ । त्यसैले मलाई लाग्छ उहाँले यो सभापतिकालमा गुटको राजनीति अन्त्य गर्नुहुनेछ । उहाँले सबैलाई साथमा लिएर जानुहुनेछ । त्यसैले डा.शेखर कोइरालाले पनि उहाँलाई साथ दिनुहुनेछ र अबको भविष्य भनेको उहाँकै हो, हामी सबैको हो ।

तपाईंले यसो भनिरहदा शेरबहादुर देउवा सभापतिमा विजयी भएपछि शेखरजीलाई एक पटक पनि सम्पर्क गर्नुभएको छैन्, उहाँले आफ्ना मान्छेलाई मात्र मनोनयन गर्नुहुन्छ । अनि गुटको अन्त्य गर्नुहुन्छ भनेर कसरी पत्याउने ?
उहाँले शेखरजीसँग सम्पर्क गर्नुभएको छैन् भने उहाँले सबैसँग सल्लाह गर्नुपर्छ भन्ने मेरो भनाई हो । मैले गुटको अन्त्य गर्न सकिन भने, राम्रो काम गर्न सकिन नेपाली जनताले मलाई धिक्कारछन् भन्ने उहाँले सोच्न्पर्छ । जनताले नेपाली काँग्रेसलाई जिम्मेवारी दिएका छन् । आगामी दिनमा सबैको पार्टी काँग्रेस हो भन्ने हिसाबमा मिलाउन जरुरी छ ।

तर, काँग्रेसका नेताहरुको छाती सानो, आलोचना सुन्नै चाहदैनन् भन्छन् ?
छाती ठूलो बनाउन पर्छ । हामीले राम्रा र नराम्रा सबै कुरा सुन्नुपर्छ । नराम्रा कुरालाई पनि ग्रहण गरेर सुधार गर्नुपर्छ । हाम्रा कमिकमजोरी औल्याउने काम तपाईंहरुले नै गर्ने हो ।

बतास समूहले दरबार क्षेत्रमा गएर रेष्टुरेन्ट बनाउन लागेको छ । यस विषयमा तपाईं के भन्नुहुन्छ ?
कसले बनाउन लाग्यो भन्दापनि, कसले दियो भन्ने कुरा हो । उहाँको सादगी जिवन छ भनेर बाहिर जुन प्रकारले चर्चा हुनेगर्छ । म उहाँ प्रति घोर आपत्ती प्रकट गर्न चाहन्छु । त्यो काम अहिलेको सरकारले रोक्ने काम गरेको छ । म यो सरकारलाई धन्यवाद दिन चाहन्छु । अबका दिनमा यति र ओम्नीका कुरा पनि अगाडी बढाउनु पर्छ । बोलेर मात्र हुँदैन् । चार वर्षसम्म हामीले संसदमा जुन कुरा उठाएका छौं । अबको दिनमा हामीले उठाएका विषयमा छानबिन गर्न जरुरी छ । त्यसपछि मात्र जनताले हामीलाई धन्यवाद भन्नेछन् । जोसुकैले गरेपनि यो सरकारले भ्रष्टचारको भण्डाफोर गर्नुपर्छ ।

शेरबहादुर देउवाले शेखर कोइरालालाई २०औं वरियतामा राख्नुभएको छ । यो उहाँमाथिको अन्याय होइन् र ?
मर्यादाको कुरामा केही कुराहरु मिलेका छैनन् । त्यसमा हामीले पनि केन्द्रीय समितीमा उठाएका छौं । त्यसका लागी एउटा कमिटी बन्छ र त्यो कमिटीले यी कुराहरु मिलाउने छन् । सबै नेताहरुको उचीत सम्मान हुन्छ भन्ने मलाई विस्वास छ । अबपनि हामीले ठूलो छाती बनाउन सकेनौं भने जनताले हामीलाई विस्वास गर्ने छैनन् । त्यसैले हामीले अब ठूलो छाती बनाएर अगाडी बढ्नुपर्ने अवस्था रहेको छ । म तपाईलाई विस्वास दिलाउछु, केही समयमा यो कुरा मिल्नेछ र पार्टीका सबै साथीहरु एकतावद्द भएर अगाडी बढ्नुहुनेछ भन्ने कुरामा विस्वस्त छु ।



प्रतिक्रिया दिनुहोस्