Logo

महाकालीमा अर्को पक्की पुल बन्ने



काठमाडौं, पुस २३। महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ ।

सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्को पुल निर्माण हुने भएको हो । महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृति दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुई देशबीच आवतजावत गर्नका लागि महाकाली पुलमा हाल टनकपुर गड्डाचौकीबाहेक अरू भागमा पक्की पुल छैन । कहीँ झोलुङ्गे पुल छन् भने कहीँ तुइनबाट आवतजावत हुँदै आएको छ, जसका कारण यहाँका स्थानीय बासिन्दा महाकाली नदीमा दुर्घटनामा परी अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।

हाल निर्माण हुन थालेको पुलले नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको धारचुला क्षेत्रलाई जोड्ने छ । सो पुल निर्माणका लागि यही सोमबार मात्र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले समझदारीपत्र पारित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।

मन्त्रालयका अनुसार दार्चुला जिल्लाको सदरमुकाम जोड्ने राजमार्गसँग रहेको धाप नजिकको असिकाँडा क्षेत्रमा निर्माण हुने पुलको डिजाइन तथा लागतसमेत तयार भइसकेको छ । दुई वर्षअघि पुल निर्माण हुने क्षेत्रको माटोको परीक्षणसमेत भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा २०७३ सालमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा भारतसँग महाकाली नदीमा चारवटा पुल निर्माण गर्ने सहमति भएको थियो तर सो सहमति हालसम्म कार्यान्वयन हुन सकेको थिएन ।

प्रधानमन्त्री देउवाको यो पटक पनि भारत भ्रमण हुने बेला उहाँको उपस्थितिमा पुल निर्माणका लागि दुई देशका अधिकारीबीच सम्झौता हुने कार्यक्रम रहेको थियो ।कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको टिङ्करसम्म दुई देशबीच आवतजावत गर्ने पक्की पुल छैन । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा महाकाली नदीले झन्डै चार सय किलोमिटर दूूरी पार गर्ने गरेको छ ।

यो दूूरीमा गड्डाचौकीमा मात्र पक्की पुल निर्माण छ र हाल आंशिक समयका लागि प्रयोगमा आइरहेको छ । महाकाली नदीमा दार्चुला जिल्लाको सदरमुकाम र बैतडी जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने पुरानो झोलुङ्गे पुल छन्, जहाँ भन्सार कार्यालय सञ्चालनमा छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot