Logo

३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान



काठमाडौं, २३ पुस। प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणि आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले तालिममा दिलाइएका विपद् व्यवस्थापन सम्बन्धि ज्ञान सीपलाई प्रयोग गरी विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । खोज, अध्ययन एवं उद्धार सामग्रीको प्रयोगबारे प्राप्त कौशल अनुरुप प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले गत कात्तिक २८ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना र प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान २४ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।

विपद् व्यवस्थापन सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुतीकरण समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक रमेश लामाले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरीका प्रत्येक कर्मचारीहरूलाई विपद्, खोज तथा उद्धार कार्य सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष उद्धारकर्मीहरू तयार गर्ने तथा विपद् व्यवस्थापन तालिमहरूको प्रशिक्षक विकासको आधार तयार गर्ने लक्ष्य अनुरुप उक्त तालिम प्रदान गरिएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्