Logo

उपाध्यक्ष ज्ञवालीको दाबी– एमालेसँग प्रतिष्पर्धा गर्नसक्ने क्षमता कुनै पार्टीसँग छैन् (भिडियोसहित)



नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनीतिमा नेकपा (एमाले)सँग एक्लाएक्लै प्रतिष्पर्धा गर्नसक्ने क्षमता कुनै पार्टीसँग नभएको दाबी गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै ज्ञवालीले भने, ‘हिजो नेकपा (एमाले)लाई बनाउन लाग्नुभएका नेताहरु नै आजको अवस्थामा एमालेलाई धुलो चटाउने भनेर लाग्नुभएको छ । पाँच दलिय गठबन्धन बनाएर एमालेलाई सिध्याउने अभियानमा पनि लाग्नुभएको छ । एमालेलाई जित्न नेपाली काँग्रेसले पनि सक्दैन् । अन्य पार्टीको त कुरा नै नगरौं । सबै मिलेर आएपनि एमालेलाई हराउन धेरै गाह्रो छ ।’

साथै, उनले आज भइरहेको नेकपा (एमाले)को जिल्ला अधिवेशनमा सकेसम्म सर्वसम्मतिको प्रयास भइरहेको बताएका छन् । प्रस्तुत छ नेता ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

नेकपा (एमाले)को जिल्ला अधिवेशन देशभर एकसाथ भइरहेको छ । तयारी के भइरहेको छ, कस्तो नेतृत्व ल्याउदै हुनुहुन्छ ?
आज पुस २३ गते पहिलेको निर्धारित समय अनुसार देशभर एकैपटक जिल्ला अधिवेशन हुँदैछ । त्यसको उद्घाटन पार्टीको केन्द्रीय कार्यालयको कन्ट्रोल रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओली गर्नुभएको छ । साथै, उहाँले देशभरी एकसाथ भर्चुअल माध्यमबाट सम्बोधन पनि गर्नुभएको छ । तर, केहि जिल्लामा त्यहाँको विशेष कारणले गर्दा आज नहुन सक्छ । सबै ठाउँमा राम्रो तयारी भइरहेको छ । म अहिले दाङमा छु । हिजो कार्यक्रमको शिलशिलामा बाँके गएको थिए । त्यहाँ पनि साथीहरु लाग्नुभएको छ । मैले बुझ्दा देशभरि नै पार्टीका नेता कार्यकर्ताहरुले भव्यरुपमा तयारी गरिरहनुभएको छ । नेतृत्व छनोटको लागी सकेसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको छ ।

उसोभए सबैठाँउ सर्वसम्मत हुन्छ, अथवा निर्वाचन हुन्छ ?
यसको लागी सकेसम्म सबै जिल्लामा सर्वसम्मत प्रयास भइरहेको छ । किनभने अब चुनाव पनि आइसकेको छ । पार्टीलाई एकतावद्दरुपमा अगाडी बढाउनपर्नेछ । सबै जना एकढिक्का भएर जानुपर्छ । अब अहिले अवस्थामा एकथरि साथीहरुले पार्टी विभाजन गरेका छन् । त्यसले थोरै भएपनि नोक्शान पुर्याउन सक्छ । तर, त्यति ठूलो नोक्शानि त हुँदैन् । त्यसैकारणले गर्दापनि हामी सकेसम्म सर्वसम्मतरुपमा अगाडी बढ्नेछौं । तर, त्यसो हुन नसकेका ठाउँमा भने निर्वाचनकै माध्यमबाट हामीले जिल्ला नेतृत्व चुन्ने प्रयास गर्नेछौं ।

तपाईंहरुले किन सर्वसम्मतिमा जोड दिनुभएको ? पार्टीभित्र लोकतान्त्रीक पद्धतिबाट निवार्चित भएर आउदाँ राम्रो हुन्थ्यो होला नि होइन् ?
होइन् हामीले दबाब र जबरजस्ती कसैलाई पनि गरेका छैनौं । दुई प्रक्रिया खुल्ला रहेको छ । सर्वसम्मति गरेर एकअर्कालाई साथ दिने हो भने राम्रो नै हुन्छ । त्यसो हुनसकेन भने निर्वाचन पद्धति छ । म पनि अहिले दाङमा छु । मैले यहाँ कसैलाई पनि यसो गर उसो गर भनेर भनेको छैन । यहाँका अन्य नेताहरुले पनि दबाव दिने कुरा हुँदैन् । आकांक्षीहरु धेरै नै छन् । धेरे वर्ष देखि पार्टीमा काम गरेका नेताहरु हुनुहुन्छ । उहाँहरुको आकांक्षा हुनु स्वभाविक पनि हो । त्यसैले सबैभन्दा राम्रो भनेको सर्वसम्मति हो । तर, त्यसो हुन सकेन भने निर्वाचन छ । निर्वातनलाई रोक्ने कुरा पनि हुँदैन् ।

नेकपा (एमाले) फुटेपछि तपाईंहरुलाई देशभरि घाटा भएको छ, जिल्लामा पनि त्यत्तिकै असर परेको छ । अनि अहिले पनि जिल्लामा प्रतिष्पर्धा गर्ने नेताहरु छन् र ?
हिजो नेकपा (एमाले)लाई बनाउन लाग्नुभएका नेताहरु नै आजको अवस्थामा एमालेलाई धुलो चटाउने भनेर लाग्नुभएको छ । पाँच दलिय गठबन्धन बनाएर एमालेलाई सिध्याउने अभियानमा पनि लाग्नुभएको छ । एमालेलाई जित्न नेपाली काँग्रेसले पनि सक्दैन् । अन्य पार्टीको त कुरा नै नगरौ । नेपालको राजनीतिमा नेकपा (एमाले)सँग एक्लाएक्लै प्रतिष्पर्धा गर्नसक्ने क्षमता कसैसँग पनि छैन् । गाउँगाउँ र जिल्ला–जिल्लामा त्यस्तो अवस्था देखिन्छ । त्यसैले पाँच दल मिलेर एमालेलाई हराउन सकिन्छ कि भन्ने उहाँहरुको प्रयास हो । सबै मिलेर आएपनि एमालेलाई हराउन धेरै गाह्रो छ । एमालेको नेतृत्व गरेका नेताहरुनै अहिले एमाले सिध्यान लाग्नुभएको छ । यो धेरै दुःखद कुरा हो । नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउन योजनावद्द ढंगले काम भइरहेको छ । त्यसलाई तोड्नको लागी एमालेका सम्पूर्ण नेताहरु एकढिक्का भएर लागनुपर्ने अवस्था रहेको छ । जसले यो पार्टीलाई एकतावद्द बनाउनुपर्छ भनेर लागेका छन् ति सम्पूर्ण नेताहरु एकतावद्द हुन जरुरी छ । कतिपय चित्तनबुझेका कुराहरु हुनसक्छन् । केहि व्यक्तिगतकुरा होलान, कतिपय सांगठनित कुरा होलान, कतिपय कार्यशैली र प्रवृतिका कुराहरुपनि हुनसक्छन् । तर, ति कुराहरुलाई बसेर आपसमा समझदारी गर्नुपर्छ भन्ने कुरा हो । एउटा नयाँ अवस्या के छ भने अहिले पार्टीभित्र कुनै गुटबन्धी छैन् । तर, आफ्ना–आफ्ना व्यक्तिगत कुरा र व्यक्तिगत धारणा सबैका हुन्छन् । त्यस्ता व्यक्तिले आफ्ना कुरा प्रष्टरुपमा राख्न पाउन्छन् । माथिदेखी तलसम्म सबैले आफ्ना कुरा राखिरहेका छन् । पार्टी कुनैपनि पदमा गएर काम गर्ने चाहना धेरैको हुन्छ । तरपनि ति मध्य को राम्रो भनेर छलफल गरेर अगाडी बढ्नु नै सबैभन्दा राम्रो कुरा हो ।

झलनाथ खनालले हिजो प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा अन्तरवार्ता दिदै, अहिलेको अवस्थामा निर्वाचन भयो भने नेकपा (एमाले)ले एकसिट पनि जित्दैन् भन्नु भएको छ । यस विषयमा तपाईं के भन्नुहुन्छ ?
हामीपनि जनातका बिचमा हिडीरहेका छौं । देशभरिका जनताको भावना बुझीरहेका छौं । नेकपा (एमाले)लाई पराजित गर्न सकिदैन् भनेर नै उहाँहरुले गठबन्धन गर्नुभएको होइन् र ? उहाँहरु आफ्नो पार्टीले एक सिट पनि जित्न सकिदैन् भनेर आफैमाथि विस्वास नभएर गठबन्धन गर्नुभएको छ । उहाँहरु एक्लैले जितेर देखाएर भइहाल्यो नि । नेकपा (एमाले) अहिलेको अवस्थामा निर्वाचन भए बहुमत नभएपनि ठूलो दल बन्ने त निश्चित छ । अब अहिले हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा पहिलेनै निर्वाचित भएका प्रतिनिधिहरुले मत दिने भएको हुँदा यसपटक केहि समस्या हुन सक्छ । यो साँचो कुरा हो । तर, अब आउने नयाँ चुनावमा यस्तो अवस्था हुँदैन् ।

राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले)ले एक सिट पनि जित्ने अवस्था छैन् होइन् ?
पुराना प्रतिनिधिहरुले गर्दा यसपटक त्यसो हुनसक्छ । तर, जनताले प्रत्यक्षरुपमा भोट हाल्ने जुन निर्वाचन हुन्छ त्यसमो नेकपा (एमाले)ले शानदार भोट ल्याएर विजय हुनेछ ।

नेकपा (एमाले)ले लामो समयसम्म संसद चल्न दिएको छैन् । किन एमालेले नेपालको राजनीतिलाई संकटग्रस्त बनाउन चाहेको ?
होइन्, नेकपा (एमाले)ले यस्तो गर्न चाहेको होइन् । सत्तापक्ष र प्रतिपक्षबिचमा वार्ता, संवाद र कुराकानी हुनपर्छ । त्यसको आधारमा निष्कर्शमा पुग्नुपर्छ । अब अहिले प्रधानमन्त्रीले हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कुरा पनि छ । रामचन्द्र पौडेलजीले भेट्नुभयो भन्ने कुरा पनि आएको छ । छलफल गरेर कतिपय विषयमा सहमतिपनि गर्नुपर्छ किनभने हामी सबै मिलेर लोकतन्त्र ल्याएका हौं । त्यसैले कतिपय साझा समस्याका विषयमा आपसमा समझदारी गरेर टुङ्याउनुपर्छ । मेरो विचारमा मलाई के लाग्छ भने नेताहरु बसेर अहिले संसदको गतिरोध जुन छ, त्यसलाई कसरी हल गर्ने भन्नेकुरामा लाग्नुपर्छ । भोली चुनावमा हामी प्रतिष्पर्धा गर्ने नै हो । जनताले जसलाई मत दिन्छन् त्यसलाई स्विकार गर्ने नै हो । तर, कतिपय विषयमा हामीले फेरीपनि सहमति गर्नुपर्ने नै हुन्छ । नेकपा (एमाले) जस्तो एउटा ठूलो पार्टीका एजेण्डा के हुन् ? किन संसदमा अवरोध गरिरहेको छ ? माग के हो ? यसलाई कसरी हल गर्ने भन्ने बारेमा छलफल गरेर टुङ्ग्याउनपर्छ । यसलाई धेरै लामो समय लगेर फाइदा हुँदैन । छिटोभन्दा छिटो यसको समाधान निकाल्न पर्छ ।

उसोभए अबका दिनमा एमाले लचिलो भएर संसद सुचारु गर्न सहयोग गर्छ ?
यस विषयमा हाम्रा पार्टी अध्यक्षसँग भेटेर सत्तारुढ दलका अध्यक्षहरुले, मुख्यरुपमा प्रधानमन्त्री ज्यूले नै भेटेर छलफल गर्नुपर्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र पुस्पकमल दाहालले ‘प्रचण्ड’ले बालकोट केपी शर्मा ओलीलाई भेट्ने चाहना व्यक्त गरिरहनु भएको छ, तपाईंहरुको पनि त्यतातिर ध्यान जानुपर्यो नि होइन ?
त्यो कुरा ठिक छ । उहाँहरुले अब भेट्नुहोला । छलफलबाट यो कुरालाई टुङ्गोमा पुर्याउनपर्छ ।

तर, रामचन्द्र पौडेलले विभिन्न प्रस्ताव लिएर जानुभएको थियो । केपी शर्मा ओलीले मान्नुभएन नि ?
अब भेटघाट सुरु हुँदैछ । यसको एउटा समाधान निक्लिएला भन्ने विस्वास छ ।



प्रतिक्रिया दिनुहोस्