Logo

देउवा र ओलीबीच संसद् खोल्ने सहमति भएको छैनः डा. राजन भट्टराई



काठमाडौं, २५ पुस । नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच संसद् खोल्ने सहमति नभएको दाबी गरेका छन्।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भट्टराईले भने, ‘प्रधानमन्त्री हिजो बालकोट जानुभयो। देउवा र ओलीबीच एक्लाएक्लै भेटघाट भएको हो। उहाँहरूबीच पक्कै पनि समसामयिक विषयमा कुराकानी भयो होला। तर दुवै जनाले भेटघाटका विषयबाहिर ल्याउनुभएको छैन। त्यस विषयमा मैले बताउन सक्दिनँ।’

नेता डा. भट्टराईले सभामुख अग्नि सापकोटाको राजीनामा वा एमालेका १४ सांसदमाथि कारबाही नहुँदासम्म संसद् खुल्ने सम्भावना नरहेको औंल्याए। उनले थपे, ‘प्रधानमन्त्री संसद् खोल्न तयार हुने हो भने भोलि नै हुन्छ। तर त्यसभन्दा पहिले सभामुखले कि राजीनामा गर्नुपर्छ कि १४ सांसदमाथि कारबाही गर्नुपर्छ। त्यस विषयमा सम्बोधन भयो भने एमालेले संसद् खोल्न कुनै आलटाल गर्दैन।’

उनले नारायणहिटी संग्रहालय, ओम्नी, यती आदि सबै विवादास्पद विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न उनले सरकारलाई चुनौती दिए। उनले एमसीसीबारे अहिले एमालेलाई सोध्न नमिल्ने दाबी गरे। उनले भने, ‘त्यसबारे हामीलाई सोध्नुपर्ने कुरा छैन। सरकारले छलफल पनि गरेको छैन। यसबारे हामीलाई सोध्दै नसोध्नुस्। संसद्लाई प्रधानमन्त्री बनाउन त दिएनन्, अरू काम त गरे हुन्छ नि ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot