Logo

‘लिलामी ‘



डा. युगेश ढुंगाना : 

म ढिंडोमै जन्मे
ढिंडोमै हुर्के
ढिंडो मेरो परिचय हो
सायद, ढिंडोमै मर्छु होला

तिमी रक्षानमा जन्म्यौ
त्यसैमा हुर्क्यौ
भात विकास गर्यौ
र भात बेच्दैछौ

ढिंडो मेरो वाध्यात्मक मौलिकता हो
मेरो स्वाभिमान हो
भात तिम्रो व्यापारिक विकास हो
र त बेच्दैछौ

म ढिंडो बेच्दिन
कसैलाई खान पनि थोपर्दिन
तर हार्दिकताका साथ पस्कन्छु
चाह्यौ खान तिमिले भने

गुनासो तिमिप्रति  खासै छैन मेरो
तिमी त व्यापारी हौ
बेच्छौ तिमी प्रविधी र विकास
र अक्सर, ईमान पनि

दिन्न दोष तिमीलाई
किनकी तिम्रो इरादा प्रष्ट छ
तिमी एक व्यापारी न हौ
एक एक दामको पसल आकर्षक आइटमसहित

गुनासो त मेरो हाम्रा क्रयकर्ताप्रति हो जो भातको मिठासमा र्याल काढेर
आफ्नो ढिंडोको भान्छो बेच्दैछन्
आपत्ति त मेरो हाम्रा समृद्धिका ठेकेदारहरुप्रति हो जो हाम्रो अर्गानिक कोदोको भकारी बन्धक राखेर
किटनासकयुक्त विदेशी धानको सपना देख्दैछन्

होइन म समृद्धि र विकास विरोधी
छैन ममा सधैं संदेह छिमेकिको मित्रता र सहयोगप्रति
तर भन्छु आज म दृढताका साथ
यो देश तिम्रो जत्ति हो, मेरोपनि त्यत्ति

(डा.ढुंगाना  कृमसन अस्पतालका एनेस्थेसिओलोजिस्ट हुन् ।)



प्रतिक्रिया दिनुहोस्