Logo

किन बढ्यो पृथ्वीनारायण शाहप्रति चासो र सम्मान ?



काठमाडौं, २७ पौष । आज पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती । आजभन्दा ठिक ३०० वर्ष अघि जन्मिएका पृथ्वीनारायण शाहले नेपालको इतिहास बदले । नेपालको आधुनिक इतिहासमा पृथ्वीनारायण शाह त्यस्ता राजा बनेर उदाए जसले नेपालको भौगोलिक एकीकरणको सुरुवात मात्र गरेनन् संस्कृति र धर्मको समेत रक्षाका लागि महत्वपूर्ण योगदान गरे ।

नेपाललाई असली हिन्दुस्तान बनाउने अभियानकर्ता थिए पृथ्वीनारायण शाह । उनको सिधा साइनो गोरखपुरस्थित गोरखनाथ मठसँग थियो । गोरखपुर क्षेत्रमै उनको ससुराली पर्दथ्यो ।

पृथ्वीनारायण शाह साहसी राजा थिए नै । उनमा कूटनीतिक चार्तुयता पनि थियो । कुनै राज्य जितेपछि त्यहाँको संस्कृतिको सम्मान गर्न जान्दथे । काठमाडौं उपत्यका जितेपछि नेवार संस्कृतिको सम्मान मात्र गरेनन् आफैले अँगिकार गरे । उपत्यका जितेपछि कुमारीको दर्शन गरे ।

उपत्यकामा चल्ने जात्राहरुले निरन्तरता मात्र पाएनन् प्राथमिकता समेत पाए । यसरी पृथ्वीनारायण शाहले देशभित्रको सनातन धर्म र संस्कृतिमा जोड दिए ।
पृथ्वीनारायण शाह इशाई धर्मप्रचारकहरुप्रति भने अनुदार भए । उनीहरुप्रति कठोर बने ।

राजसंस्थाको अन्तपछि भने पृथ्वीनारायण शाहको शालिक समेत भत्काइयो । उनको जन्मजयन्तीमा दिदै आएको बिदा कटौती गरियो । पृथ्वी जयन्ती अर्थात् २७ पौषलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइन्थ्यो । अहिले राज्यले कुनै उत्सवका रुपमा घोषणा गरेको छैन ।

पृथ्वीनारायण शाहले स्थापित गरेको इतिहासमाथि विजयी हासिल गरेर नयाँ इतिहास रचेको ठान्नेहरुले यस्तो घोषणा गर्नु स्वाभाविक थियो ।

तर, पृथ्वीनारायण शाहप्रति झनै सम्मान बढ्न थालेको छ । जनमानसमा उनको योगदानको स्मरण अझ बढी हुन थालेको छ । नयाँ पीढीले उनीबारे चासो बढाउन थालेका छन् । उनी फेरि चासो र चर्चामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्