Logo

राष्ट्रियसभा चुनावलगत्तै मन्त्रिमण्डल पुर्नगठन हुने



काठमाडौं, २८ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट केही दिनयता निस्किएका छैनन् । उनी आइशोलेशनमा बसेका छन् ।

शिर्ष नेताहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण भएपछि देउवा आइशोलेशनमा बसेका हुन् । यसकारण केही दिनभित्रै हुने भनिएको मन्त्रिमण्डल पुर्नगठन धकेलिएको छ । देउवाले सत्ता गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी नयाँ मन्त्री थप्ने देखि जिम्मेवारी हेरफेरसमेतको प्रस्ताव गर्ने तयारी गरेका थिए ।

विश्वस्त स्रोतका अनुसार देउवाले राष्ट्रियसभाको १९ सिटका लागि हुने निर्वाचनपछि मात्र मन्त्रिमण्डलमा नयाँ मन्त्री थप्ने भएका छन् । उनले केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गर्ने तयारी गरेका छन् ।

देउवाले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका लागि पनि नयाँ मन्त्री थप्ने तयारी गरेका छन् । नयाँ मन्त्रीमा सुजाता कोइराला र अर्को एकजना पर्ने बुझिएको छ ।
यसैगरी, केही मन्त्रीको जिम्मेवारी हेरफेरमा समेत देउवाले इच्छा देखाइरहेका छन् । जनता समाजवादी पार्टीबाट पनि मन्त्रीमा हेरफेरको प्रस्ताव लाने तयारी भएको छ । तर, देउवा सहमत नभए रोकिनेछ ।

माओवादी केन्द्रबाट पनि महाधिवेशनपछि पदाधिकारी चयनपश्चात केही परिवर्तनको सम्भावना छ ।

देउवाले राष्ट्रियसभा चुनावपछि पार्टीभित्र सबैलाई मिलाएर लाने गरी तयारीहरु गरिरहेको बुझिएको छ । उनले केन्द्रीय सदस्य मनोनित गर्दा आफ्नो समूह बाहिरकालाई पनि समेटेर जाने रणनीति तयार गरेको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्