Logo

विद्यार्थीले खोप पाउने निश्चित



काठमाडौं, पुस २९ । उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । भक्तपुरमा मोडर्ना तथा काठमाडौं र ललितपुरमा फाइजर खोप लगाइँदैछ ।

तीनै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखका अनुसार भक्तपुरमा करिब ८० प्रतिशत तथा काठमाडौं र ललितपुरमा करिब ४० प्रतिशत खोप लगाइसकिएको छ । काठमाडौं र ललितपुरले मंगलबारबाट खोप अभियान शुरू गरेको हो । काठमाडौंमा २ लाख ७० हजार मात्रा खोप लगाउने योजना रहेकोमा विद्यार्थीको संख्या बढेर र करिब ३ लाख पुग्ने अनुमान छ ।

स्थानीय तहका शिक्षा शाखाले २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र सोभन्दा कम विद्यार्थी भएका विद्यालय भए सँंगैको विद्यालयमा खोप केन्द्र रहने व्यवस्था मिलाएको छ । ललितपुर स्वास्थ्य कार्यालय प्रमुख सतीश विष्टले जिल्लामा ७१ हजार ३ सय १ जनाले खोप लगाउने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot