Logo

देउवाको ६ महिने कार्यकालमा के के भयो ?



काठमाडौं, २९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल पूरा भएको छ । २९ असारमा प्रतिनिधि सभा पुनःस्थापनाको सर्वोच्च अदालतको फैसलासँगै परमादेशबाट देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

देउवालाई पुनःस्थापित प्रतिनिधिसभाको बहुमत सदस्यको हस्ताक्षर पहिल्यै थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन सदर गरेकी थिइन् । यसले राजनीतिलाई नयाँ मोडमा लग्यो । ओलीविरुद्ध गठबन्धन बन्यो ।

देउवा प्रधानमन्त्री भएपछि ओलीको कार्यकालमा भएका नियुक्तिहरु धमाधम खारेज हुन थाले । राजदूतहरु फिर्ता बोलाइए । राजनीतिक नियुक्तिहरु खारेज भए । जसमध्ये भूमीसम्बन्धी आयोग पनि थियो ।

ओली प्रधानमन्त्री हुँदा गरिएको संवैधानिक निकायका नियुक्तिहरु भने अदालतमा विचाराधीन छ । सत्ता गठबन्धनले त्यसमा भने धक्का दिन सकेन । देउवा आफैले त्यसमा दिलचस्पी नदिएको चर्चा चल्ने गरेको छ ।

देउवा सत्तामा रहँदा नै नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति निर्वाचित भए । सभापति निर्वाचित हुन देउवालाई दोस्रो चरणको चुनाव लड्नुपर्यो । जसमा सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिले साथ दिएका थिए ।

प्रधानमन्त्री भएपछि देउवा बेलायत पुगेका थिए । कात्तिकको दोस्रो साता बेलायत पुगेका उनले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग थिए । उनले बेलायतमा अमेरिकी राष्ट्रपति जो वाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुसँग भेटवार्ता गरेका थिए । पाँच दिवसीय भ्रमणपछि फर्किएका देउवाले विमानस्थलमा एमसीसीबारे बोलेर तरंग ल्याए ।

देउवाले एमसीसी पारित गर्न प्रचण्डसहित आफूले पत्र लेखेको खुलासा गरे । त्यसले राजनीतिकलाई नै तरंगित पारेको थियो ।

देउवा प्रधानमन्त्री भएपछि चीनसँग हुम्लाको सीमा समस्याको विषय उठ्यो । सरकारले सीमा अध्ययन कमिटी नै गठन गरेर प्रतिवेदन तयार गर्यो । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

भारतको गुजरातमा आयोजना हुने सम्मेलनमा देउवा जाने तय भएको थियो । तर, कोरोना भाइरस फैलिएपछि भाइब्रेन्ट गुजरात समिट नै स्थगित भयो । देउवाको भारत भ्रमण पनि स्थगित भयो ।

देउवाले आफ्नो कार्यकालयमा केपी शर्मा ओलीलाई कमजोर बनाउने सफलता हासिल गरेको विश्लेषणहरु भइरहेका छन् । उनी प्रधानमन्त्री हुँदा नेकपा एमाले फुट्यो । गठबन्धन बलियो हुँदा ओलीले एकपछि अर्को धक्का खान सके ।

देउवाको कार्यकालमा ललिता निवास प्रकरण फेरि अनुसन्धानको विषय बनाइयो । तर, यो प्रकरणलाई हात्ती आयो फुस्सा बनाउन खोजिएको चर्चा छ । नारायणहिटीको जग्गा बतासलाई भाडामा दिने प्रकरण पनि खुल्यो । यो ओली सरकारको पालामा भएको निर्णय थियो । देउवा सरकारले अस्थायी संरचना भत्काउन लगायो ।

देउवा प्रधानमन्त्री हुँदा नै नेपालले पहिलोपटक भारतलाई विद्युत विक्री गरेर विदेशी मुद्रा आर्जन गरेको छ । नेपाल विद्युत निर्यातकर्ता मुलुकमा परिणत भयो ।



प्रतिक्रिया दिनुहोस्