Logo

सरकारले यसकारण लकडाउन नगर्ने



काठमाडौं, २९ असोज । सरकारले कोरोना भाइरसको संक्रमण बढेपनि लकडाउन नगर्ने भएको छ । जोखिम क्षेत्रलाई हेरेर कडाई गर्ने नीति लिएको छ ।

आज स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकार लडाउनको पक्षमा नभएको बताए । उनले आवश्यक ठाउँ हेरेर कडाई गर्ने सम्भावना रहेको भने खुलाए ।

लकडाउन नगर्ने कारणमा आर्थिक कारण रहेको सरकारका मन्त्रीहरुले स्पष्ट पारिसकेका छन् । अर्थमन्त्री जर्नादन शर्माले फेरि लकडाउन भए अर्थतन्त्र नै संकटमा पर्ने बताइसकेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपमा जोड दिएको खुलाए ।

मन्त्री खतिवडाले पनि लकडाउनको हल्लाबाट आतंकति नहुन आग्रह गरे । सरकारले स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा भने विशेष ध्यान दिने बताइएको छ ।

देशमा तिव्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहँदा सरकारका मन्त्रीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमण फैलिएको छ । बढी भीडभाड र स्वास्थ्य मापदण्डको बेवास्ताले संक्रमण फैलिएको बताइएको छ । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले राजनीतिक दलहरुको महाधिवेशन, सभा सम्मेलन र जुलुस कोरोना फैलनुको मुख्य कारण भएको बताइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी र सम्वद्ध निकायका चिकित्सकले संक्रमण तिव्र गतिमा फैलिएकोले जोखिम बढेको खुलाइसकेका छन् । अस्पतालहरु संक्रमितले भरिन थालेको छ ।

यसैगरी सरकारले माघ महिनापछि पनि करार र ज्यालादारीका स्वास्थ्यकर्मीलाई थप तीन महिना सेवामा राख्ने निर्णय लिएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उनीहरुलाई जिम्मेवारीमा अझै राखिने उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्