Logo

बाघको डरले घरभित्रै ‘दिसा–पिसाब’



बाँके, पुस ३० । राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् । राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् । रामप्रसाद भन्छन्– ‘घरबाहिर बाघ आउँछ भन्ने डर हुन्छ । साँझ घरभित्र पसेपछि एकैपटक बिहान बाहिर निस्किन्छौं । दिसापिसाब लागेमा भित्रै गर्छौ, त्यसका लागि डब्बा राखेका हुन्छौं ।’

हब्रहवाका चाँदनी थारूलाई गत शनिबार दाउरा काट्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको थियो । चाँदनीको शवलाई भोलिपल्ट राप्ती नदीमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कार गरेको ठाउँमा समेत बाघ आएको बताइएपछि स्थानीयवासी त्रसित भएका छन् ।

हब्रहवा गाउँ हुलाकी सडकदेखि दक्षिणमा पर्छ । सडकको उत्तरमा जंगल पर्छ । गाउँमै बाघ आएको थाहा पाएपछि हब्रहवा मात्रै होइन, सिधनुवा गाउँमा मानिस पनि त्रसित छन् । दुवै गाउँका मानिस साँझ परेपछि घरभित्र छिर्छन् र भोलिपल्ट बिहान मात्रै बाहिर निस्किन्छन् ।

यति बेला हब्रहवा, सिधनुवा गाउँका हरेक घरको अगाडि आगो बाल्ने गरिन्छ । सडकका पोलमा बत्ती राखिएको छ । आगो र बत्ती बाल्दा उज्यालोमा बाघ आउँदैन भन्ने स्थानीयवासीलाई विश्वास लागेको छ । घरबाहिर आगो बाल्ने र मान्छेजति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्