Logo

प्रचण्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यले गरे महासंघको बैठक बहिस्कार



काठमाडौं, ३० पुस :  मिडिया अवार्ड वितरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन् ।

कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टरसम्बद्ध केही सदस्यहरू बाहिरिएका हुन् । मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छोडेर बाहिरिएका हुन् ।

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरूप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरू बोलेर बाहिरिएका थिए । महासचिवले बहिस्कारका नाममा बैठक पूर्व नै सेन्टर निकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरूमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ ।

असन्तुष्टिका कुराहरू बैठकमै राख्नुको साटो बैठक सुरु नहुँदै बाहिर निस्किनु अमर्यादित काम भएको लेखा समिति सदस्य मुकुन्द भन्डारीले बैठकमै बताएका थिए ।

यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक बिधानसम्मत चल्नुपर्ने बताएका थिए । बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्