Logo

प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लबद्वारा कर्णाली पराजित



काठमाडौं, ३० पुस । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो । जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ ।

कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई पराजित गारेको थियो ।

आजको खेलमा पुलिस क्लबले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ६ चौका र ३ छक्का हाने । बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुई–दुई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिए । उनले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई–दुई विकेट लिए । रासस



प्रतिक्रिया दिनुहोस्