Logo

सर्वदलीय बैठक सम्पन्न, आयोगले भन्यो-‘माघ पहिलो साताभित्रै स्थानीय चुनावको घोषणा गर्नुपर्छ’



काठमाडौँ, ३० पुस। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग गरेको छलफल सकिएको छ । आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा दलहरूसँग सर्वदलीय बैठकमा छलफल गरेको हो।

सर्वदलीय बैठकमा आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । छलफलमा निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएको जनाइएको छ। आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ । एमालेले गठबन्धनले चुनाव सार्न खोजेको आरोप लगाउँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्