Logo

‘नाकाबन्दी’ बारे चीन बोल्यो



काठमाडौं, ३० पौष । यतिबेला चीनसँगको सीमा नाका ठप्पप्रायः छ । चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट मूसा छिर्न पनि मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको छ ।

चीनमा अध्ययन गरेर नेपालमा रहेका विद्यार्थीहरु फर्कन पाएका छैनन् । विशेषगरी मेडिकलका विद्यार्थीहरु समस्यामा परेका छन् । उनीहरुले इन्टर्न गर्न नपाएर बेला बेलामा सडकमा ओर्लिइरहेका छन् ।

चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको विषयहरु बाहिर आयो । कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उतिबेलै यो विषय जोडतोडका साथ उठाए । सरकारले छानविन कमिटी गठन गरी प्रतिवेदन समेत तयार गरेको छ । तर, कूटनीतिक संवेदनशीलतालाई दृष्टिगत गरी सार्वजनिक गरेको छ ।

चीनसँगको यावत समस्याहरु एकपछि अर्को उठ्न थालेपछि चिनियाँ राजदूतावासको प्रवक्ताले यसबारे बोलेका छन् । प्रवक्ताका तर्फबाट चिनियाँ राजदूतावासले चीनले सीमा अतिक्रमण नगरेको दाबी गरेको छ । चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको सम्मान गर्दै आएको भनेको छ । नेपाल र चीनले सीमा समस्या सन् १९६० कै दशकमा समाधान गरिसकेको र हाल कुनै विवाद नरहेको उल्लेख गरिएको छ । दुवै देशमा सीमा सम्बन्धी मामलामा राम्रो सञ्चारहरु भइरहेको र व्यक्तिगत झूटा रिपोर्टको पछि नलाग्न भनिएको छ ।

चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगरेको दाबी गरिएको छ । पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीका अलावा चीनबाट उच्च अधिकारीहरु नेपाल आएर राजनीतिक हस्तक्षेपहरु गरेको विषय बाहिर आइरहँदा यो भनाई सार्वजनिक भएको हो ।

सीमा नाकामा चीनले नाकाबन्दी लगाएको विषयबारे कूटनीतिक तरिकाले कोभिड १९ को महामारीलाई कारण देखाएको छ । उसले अहिले कोरोना महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको बताएको छ । तर, एकतर्फी नेपालमा सामान पठाउन दिइएको उल्लेख गरेको छ । चीनले चाहेमा नेपालमा सामान आयात हुने तर यहाँबाट निर्यात नहुने गरी कडाई गरिएको छ । यसमा उसले कोरोना महामारीलाई देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्