Logo

पूर्वप्रधानमन्त्री मातृका कोइरालाका पनाति आत्रेय समाजसेवामा, मनिषाले देखिन् नयाँ आशा



काठमाडौं, ३० पुस । पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका पनाति आत्रेय कोइराला समाजसेवामा होमिएका छन् । किशोरावस्थाका आत्रेयले समाजसेवा हुँदै राजनीतिमा पाइला राख्न लागेको बुझिएको छ । उनको यो कदमलाई मनिषा कोइरालाले नयाँ आशा भन्दै अर्थपूर्ण सन्देश दिएकी छिन् ।

आत्रेयले मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ ‘नयाँ उज्यालो फाउण्डेशन’ स्थापना गर्दै मनिषा कोइरालामार्फत् उद्घाटन गराएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाको विधिवत रुपमा उद्घाटन गरिएको हो ।

प्रमुख अथिति अभिनेत्री मनिषा कोइरालाले आफूबाहेक अरुको बारेमा पनि सोच्ने समाज विकास हुँदै गएको बताइन् । उनले नयाँ पुस्ताले नयाँ आशाहरु देखाएको बताइन् । उनले भनिन्,‘अबको पुस्ताले आफूबाहेक अरुको बारेमा पनि सोच्नथालेको छ, समाज र देशमा नयाँ आशा विकास भएको छ ।’

नयाँ उज्यालो फाउण्डेशनका अध्यक्ष आत्रेय कोइरालाको प्रशंशा गर्दै समाजमा अरुको बारेमा सोच्ने भावना विकास गर्दै अगाडि बढेको बताइन् । सानै उमेरमा आत्रेय समाजसेवामा लागेकोमा गर्व महसुस भएको बताइन् । ‘उसको सोच र काम कस्तो राम्रो । यो उमेरमा केटाकेटीहरु खेल्छन् र आफ्नो करियरको बारेमा सोच्ने गर्छन् । तर, उसले एउटा होप देखाएको छ कि अब आउने पुस्ताले आफूबाहेक अरुको बारेमा पनि सोच्नेछ ।’ किशोरावस्थामै आत्रेयले गरेको कामलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

संस्थाको अबधारणा पत्र प्रस्तुत गर्दै संस्थापक अध्यक्ष आत्रेय कोइरालाले शिक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै ‘सधैका लागि, सबैका लागि स्वस्थ्य’ भन्ने मुल नाराका साथ २०७८ सालमा नयाँ उज्यालो फाउन्डेसन स्थापना भएको बताए । शिक्षा र स्वास्थ्य भनेको देश विकासको पहिलो आधार भएको बताउदै संस्थाको मुल उद्देश्य भनेको दुर्गम क्षेत्र र गरिबीको रेखा मुनी रहेका नेपालीहरुलाई सहज तरिकाले औषधि र स्वास्थ्य उपचार प्रदान गर्ने भएको स्पष्ट पारेका थिए ।

शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राखेको, संयुक्त राष्ट्रसंघले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै आफूले यही क्षेत्रमा काम गर्ने जमर्को गरेको बताए । राज्यको नीति पनि लोककल्याणकारी भएको हुँदा स्वास्थ्य क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास अधुरो हुने बताए । ‘हाम्रो उद्देश्य दुर्गम क्षेत्र र गरिबीको रेखा मुनी रहेका नेपालीहरुलाई सहज तरिकाले औषधि र स्वास्थ्य उपचार प्रदान गर्ने हो,’ आत्रेयले भने । देशका बिभिन्न क्षेत्रमा स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा दिने लक्ष्य पनि सुनाए । ‘स्वास्थ्यको लागि हाम्रो यस प्रयासमा सबैलाई सहयोग गर्न अनुरोध गर्दछौं,’ अवधारणा पत्रमा भनिएको छ ।

आत्रेयकी हजुरआमा समाजसेवा तथा शिक्षाविद ललिता प्रसाईले आत्रेयलाई टेलिभिजनमा सामान्य औषधी उपचार समेत नपाएर ज्यान गएको घटनाहरु देखेर यस्तो सेवाको काम गर्ने प्रेरणा मिलेको बताइन् । उनले भनिन्, ‘मेरो पकेटमनिबाट सुरु गर्छु भनेर १६ वर्षको उमेरमा यो काममा लागेको हो । अहिलेसम्म धेरै कामहरु गरिसेकेको छ । यसलाई यो सोच सधै आइरहोस । हामीले हाम्रो समाजमा सधै सेवा गर्नुपर्छ’ ।

संस्थाका सल्लाहकार राजकुमार उप्रेतिले आज विधिवत रुपमा स्थापित भएको ‘नयाँ उज्यालो फाउण्डेशन’ एउटा संस्थाको नाम मात्र नभएर स्वास्थ्यको क्षेत्रमा उज्यालो ल्याउने दाबी गरेका थिए । ‘स्वास्थ्यको पहुँच जनतासम्म नपुगिरहेको अवस्थामा यो संस्थाले काम गर्नेछ,’ उनले भने । उनले कोभिडको समयमा बिभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने देखि सचेतना फैलाउने सम्मका काम तिरन्तर रुपमा गरिरहेको प्रकाश पारेका थिए । ‘रेल अगाडी बढेको छ गन्तव्यमा नपुगेसम्म निरन्तर अगाडी बढ्नेछ । सरकारले केही काम गर्न छुटाएको रहेछ भने हामीले झक्झकाउन पर्छ,’ उनले भने ।

नेपाली काँग्रेसका युवा नेता तथा पाँचखाल नगरपालिका मेयर महेश खरेलले आत्रेय कोइरालामा देखिएको सेवा भाव सबैका लागि उदाहरणीय रहेको बताए । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापीत गर्न ठूलो भुमिका खेलेको कोइराला परिवारको कान्छो सदस्य समाजिक काममा लागेको भन्दै खुशी व्यक्त गरेका थिए ।

यस्तै, बूढानिलकण्ठ नगरपालिका मेयर उद्वव प्रसाद खरेलले सानो उमेरमै आत्रेयले सबैलाई सेवागर्न हौसला दिएको उल्लेख गर्दै आगामी दिनको लागि शुभकामना दिएका थिए । ‘आगामी दिनमा उज्यालो फाउन्डेसनले उज्यालो छर्न सकोस, सानो काम गरेर ठूलो कुरा गर्ने भन्दापनि सानो संस्था भएपनि ठूलो काम गर्न सकोस मेरो शुभकामना छ,’ उनले भने ।

संस्थाका सुवेक्षुक सुशिल उप्रेतिले गरिबीको रेखामुनी रहेका नेपाली जनतामा आधारभुत आवश्यता पुर्याउन हेतुले खोलिएको यस संस्थाको कामले आफुलाई खुसी मिलेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्