Logo

राजनीतिमा आउन लागेका कोइराला परिवारका १६ वर्षीय यी किशोर



सचिना बाँनिया, ३० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिले नराम्रो धक्का खायो । काँग्रेसको राजनीतिमा लामो योगदान गरेका कोइराला, सिंह र निधि परिवारका विरासतहरुले धक्का खाए ।

डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा पराजय व्यवहोरे । सुजाता कोइराला र महेश आचार्यले उपसभापतिमा पराजित हुनुपर्यो । विरासतको राजनीति गर्ने नेताहरुले धमाधम धक्का खाइरहँदा कोइराला परिवारबाट भने धमाधम नयाँ पुस्ताको राजनीतिमा प्रवेश हुन थालेको छ ।

विशेषगरी मातृकाप्रसाद कोइरालाका परिवारका सदस्यहरु राजनीतिमा आउन थालेका छन् । यस क्रममा मातृकाका नाति आत्रेय कोइराला पनि राजनीतिमा आउने भएका छन् ।

आत्रेय भर्खर १६ वर्ष पुगे । उनी भारतको मसुरीमा अध्ययन गर्दैछन् । १० कक्षामा अध्ययन गर्दै गरेका आत्रेय नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्ने तयारीमा छन् । आत्रेयको परिवार निकट स्रोतले उनी राजनीतिमा निकै चासो राख्ने खालको भएको जानकारी दियो । आत्रेयको इच्छा नै राजनीतिमा लाग्ने रहेको परिवारले बताएको छ ।

आत्रेयका जिजुबुवा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । उनका हजुरबुवा डा. अजय कोइराला चिकित्सक हुन् । पिता अमित कोइराला व्यवसायमा छन् । आत्रेयमा भने समाजसेवा गर्ने इच्छा देखिन्छ ।

१६ वर्षकै उमेरमा आत्रेयले नयाँ उज्यालो फाउण्डेशन स्थापना गरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्न थालेका छन् । उनको काम र क्षमता देखेर बलिउड नायिका मनिषा कोइराला समेत दंग परेकी छिन् । मनिषा आफै उपस्थित भई आत्रेयको फाउण्डेशनको उदघाटन गरिन् । आत्रेयबाट नयाँ आशा जागेको बताइन् । मनिषाको यो भनाईलाई अर्थपूर्ण मानिएको छ ।

कोइराला परिवारबाट नाति पुस्तामा राजनीतिमा उदाउने सम्भावना बोकेका कोही देखिएका छैनन् । डा. शेखर कोइराला, डा. सशांक कोइराला, सुजाता कोइरालाका सन्तान पनि राजनीतिमा इच्छा देखाइरहेका छैनन् । मनिषाले बेला बेलामा राजनीतिक वक्तव्य दिएपछि स्वास्थ्यका कारण खासै सक्रिय छैनन् । सिद्धार्थ पनि राजनीतिमा अगाडि बढ्ने संकेत गरिरहेका छैनन् । शेखरका भतिजा हिमांशु कोइराला भारततिरै व्यवसायमा छन् । अर्का भतिजा भाष्कर कोइराला पनि अध्ययन र व्यवसायमा सक्रिय छन् ।

कोइराला परिवारको नाति पुस्तामा राजनीतिमा उदाउने संकेत कसैबाट छैन । अब पनाति पुस्ताबाट आत्रेयलाई अगाडि बढाउने गरी कोइराला परिवारका सदस्यले अहिले देखि नै होमवर्क गरेको देखिदैछ । मनिषा स्वयं उभिएर आत्रेयको खुलेर प्रशंशा गर्नुलाई अर्थपूर्ण मानिएको छ । आत्रेय चाँडै मिडियामा पनि छाउने गरी सक्रिय हुने बुझिएको छ ।

आत्रेयको सामाजिक संस्था उदघाटनमा काँग्रेसबाट विजयी उपत्यकाभित्र र बाहिरका केही जनप्रतिनिधि पनि उपस्थित भए । उनीहरुले कोइराला परिवारको कान्छो सदस्यले वीपी कोइरालाको पदचाप पछ्याउने सम्म बोले ।



प्रतिक्रिया दिनुहोस्