Logo

लिपुलेकमा सडक निर्माण अबिलम्ब रोकिनुपर्छः नेपाली काँग्रेस (विज्ञप्तिसहित)



काठमाडौं, ३० पौष । नेपाली काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको भन्दै उक्त भूभाग नेपालको भएको प्रष्ट पारेको छ । काँग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने अडान रहेको जनाएको छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो,’ काँग्रेसले विज्ञप्तिमार्फत् भनेको छ,‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्ने उल्लेख गरेको छ । लिपुलेकमा सडक निर्माणको विषय गम्भीर, आपत्तिजनक र अबिलम्बर रोकिनुपर्ने समेत उल्लेख गरेको छ ।

‘नेपाल भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरित लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तीजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा भारत सरकारले सडक बनाइरहेको भनी अभिव्यक्ति दिएपछि नेपालमा विरोध भइरहँदा सत्तारुढ नेपाली काँग्रेसको धारणा सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्