Logo

प्रेम आले को हुन् ?



काठमाडौं, २ माघ । प्रेमबहादुर आलेलाई कतिपयले ‘भाइरल मन्त्री’ का रुपमा चिन्दछन् । यसको कारण उनी नाम होस् या बदनाम गुमनाम रहँदैनन् । सधै चर्चामा आइरहनछन् ।

यतिबेला मन्त्री प्रेमबहादुर आले चर्चामा छन् । उनी मन्त्री हुँदा यसअघि पनि चर्चामा थिए । पहिलोपटक मन्त्री बन्दा भन्दा अहिले मन्त्री बन्दा बढी चर्चामा छन् ।

आले पहिलोपटक वनमन्त्री हुँदा बोटविरुवाले कार्बनडाइअक्साइड फाल्छ भनी चर्चामा आएका थिए । उनको त्यो अभिव्यक्तिका कारण धेरैले उपहास गरे । सामाजिक सञ्जालमा भाइरल भयो ।

पहिलोटक उनी नेकपा एमालेका सांसद रहँदा मन्त्री बनाइएका थिए । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । पछि एमाले फुट्दा माधवकुमार नेपालको पक्षमा लागे । नेकपा एकीकृत समाजवादी पार्टीका नेता बने ।

आले माधव नेपालको पक्षमा लाग्दा धेरैले आश्चर्य माने । उनी ओलीका विश्वासपात्र मानिन्थे । तर, रातारात गुट परिवर्तन गरी मन्त्री पद सुरक्षित गरे ।
विगतमा नेपाली काँग्रेसमा रहेका उनी २०५१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई धेरैले अस्थिर स्वभावको नेता मान्दछन् ।

आले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । मन्त्री भएपछि उनले सम्पदामा भएका अतिक्रमणविरुद्ध कदम चाल्न थाले । नारायणहिटीमा बतास समूहले लिएको ठेक्काको पर्दाफास गरे । नारायणहिटीमा ठेक्का सम्झौता मात्र विवादमा परेन सम्झौता विपरितका ठाउँ समेत लिइएको खुल्यो । यसमा उच्च राजनीतिक नेतृत्व समेत विवादमा तानियो ।

आले बतास समूहले लिजमा लिएको पशुपति धर्मशालामा समेत नीरिक्षण गर्न पुगे । त्यहाँ अनुमति नलिई सञ्चालित क्षेत्रबारे चासो लिए ।

क्यासिनोको कर तिनुपर्ने नतिरेकाहरुलाई कारबाही अगाडि बढाए । मध्यराति विमान चढ्न लागेका अमेरिकी नागरिक माइक समातिएका हुन् । उनले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गरेका छन् ।

डोटीबाट निर्वाचित सांसद समेत रहेका प्रेमबहादुर आलेले अक्सिजन सिलिन्डरमा आफ्नै तस्बिर राखेको विषयले पनि विवादमा आएका थिए । आलेले आफ्नो नाम टाँसेर सिलिन्डर वितरण गरेका थिए ।

एमाले फुट्दा आलेको भूमिका चर्चामा आयो । उनले शेरबहादुर देउवा र माधवकुमार नेपाललाई गोप्य रुपमा भेटेर केही सांसदको समेत व्यवस्थापन गरेका थिए । यसबारे खुलासा भएपछि उनी विरामी भएको भन्दै त्रीपुरेश्वरस्थित अस्पताल पुगेर नभेटेको दाबी गरिरहे । तर, केही दिनमै उनी माधव नेपाल पक्षमा लागेको खुल्यो । ओलीलाई छाडेर छक्क पारे ।

५१ वर्षीय आले सुरुमा डोटीका वडा सदस्य थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित भई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा जितेका थिए ।  २०७४ सालको निर्वाचनमा विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot