Logo

जलवायु परिवर्तन: हिमालमै हिउँ छैन, कृषि क्षेत्रमा असर



जुम्ला, माघ ३। यतिबेला हिमाली जिल्ला जुम्लाका डाँडापाखा र खेतबारी हिउँले ढाकिएका हुन्थे । हिउँले ढाकिएका जमिनमा माटो रसिलो हुने र मल खेतबारीमा भिज्ने हुँदा बाली फस्टाउँथ्यो । विगतमा मंसिर सुरु हुँदा डाँडाकाडा सेताम्मे हुन्थे ।

पहिले चाँदीझै टल्कने डाँडापाखा यो वर्ष भने उराठलाग्दा छन् । हरेक वर्ष हिउँ कम पर्दै गएको छ । हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् । हिमपात भएमा खेती गर्न सहज हुन्छ ।

हिउँले स्याउ, ओखर, आरुजस्ता फलफूल र आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ । पर्याप्त हिमपात नहुँदा चिस्यान घट्दै गएको छ । खेतबारी खनजोत गर्नसमेत मुुस्किल परिरहेको किसानहरूको गुनासो छ ।

हिमाली क्षेत्रका किसान पछिल्ला दिनमा आफूहरूले जलवायु परिवर्तनको असर भोगिरहेको अनुभव सुनाउँछन् । जिल्लाको सिंजा गाउँपालिकाका ६८ वर्षीय खडानन्द आचार्य हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको साक्षी हुन् ।

पाँच दशक पहिले हिमपातको अवस्था सम्झँदै उनले भने, ‘त्यतिबेला हिउँ नाप्ने यन्त्र त थिएन तर घरको पहिलो तला हिउँले डुब्थ्यो, कात्तिकमा पर्याप्त मात्रामा अन्न कुटानी पिसानी गर्ने र घाँस दाउराको जोहो गर्नुपथ्र्यो, जंगल हिउँले थुनिन्थ्यो, अन्न पिस्न घट्टसमेत जान मुस्किल हुन्थ्यो, अहिलेको हिउँ एक साता पनि टिक्दैन ।’ पहिला हिउँ पर्ने ठाउँमा अहिले पानी पर्न थालेको उनले बताए ।

चाहिएको बेलामा हिउँ नपर्ने र सुख्खापन बढेर जाँदा घर ’चयगलमका पानीका मूलसमेत सुक्दै गएको उनले सुनाए ।‘यो वर्षको १३ पुसमा परेको हिउँ एक साता पनि टिकेन, अहिले त पयाप्त हिउँ पर्नै छाड्यो, हाम्रो उमेर समूहका दाजुभाइ त अहिले पर्ने हिउँलाई तुषारो जस्तै मान्छौं,’ उनले भने ।

जलवायु परिवर्तनको प्रभावले गरिबीको रेखामुनि रहेका नागरिक थप पिडामा छन् । बसाइँसराइ र भोकमरीजस्ता समस्या थप बल्झेर आउने खतरा छ ।

सडक सञ्जालमा जोडिनुपूर्व जुम्ला खाद्यान्नमा आत्मनिर्भर थियो । २०६२ साल पहिले जुम्लाको उत्पादनले छिमेकी जिल्ला कालिकोट, मुगुमा खाद्यान्न निर्यात हुन्थ्यो । तर, अहिले हिमपात हुन छोडेपछि उत्पादन घट्दै गएको छ ।

अहिले कर्णालीका हिमाली जिल्लामा नेपाल खाद्य संस्थानले चामल वितरण गर्दै आएको छ । माघ महिनाको मध्यान्तरबाट जुम्लामा स्याउ र ओखरका बिरुवा रोप्न सुरु हुन्छ । तर, सुख्खा भिरालो जमिनमा बिरुवा रोप्नै मुस्किल पर्ने तिला–९ का स्थानीय टेकबहादुर बुढाले बताए ।

जलवायु परिवर्तनले सबैभन्दा बढी कृषि क्षेत्रमा असर परेको उनको भनाइ रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्